२० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्तासम्बन्धि बिबिसीको साझा सवाल कार्यक्रमप्रतिको विरोध र सहानुभूतिको क्रम रोकिएको छैन। दुवै पक्षका बारेमा भैरहेका टिकाटिप्पणीहरूले वास्तविकता समात्न नसकेको मलार्इ लाग्छ। नेपालको अहिलेको जटिल भूराजनीतिक परिवेशमा यस्ता घटनाहरू स्वतःस्फूर्त रूपमा हुँदैनन्, जनु योजनाबद्ध रुपमा बनाइन्छ।
बिबिसी विदेशी मिडिया हो, त्यो पनि नेपालको राजनीतिक मामिलामा नाङ्गो रूपमा घृणित भूमिका खेल्दै आएको बेलायतको। दशकौं अघिदेखि आफ्ना कार्यक्रम मार्फत् नेपाल विरोधि सन्देश दिंदै आएको विदेशी मिडियाका बारेमा धेरै कुरा भन्नु पर्ने आवश्यकता छैन। शेरबहादुरप्रतिको सहानुभूति पनि नाजायज छ। यदि उनले आफू जन्मेको देशप्रति नागरिक कर्तव्य निर्वाह गर्दै आएको भए उनको बेइज्जति हुनु नेपालकै बेर्इज्जति भएको मानिन्थ्यो तर उनी बिबिसी जस्ता मिडियाबाट सँधैभरि उचालिएर देश विरूद्ध काम गर्दै आएका व्यक्ति हुन्।
विदेशीहरूले एउटा कालखण्डमा एउटा पात्रलार्इ उचालेर प्रयोग गर्दछन् र अर्को कालखण्डमा अरू नयाँ विकल्पहरू बनाएपछि तिनलार्इ ठाउँ दिन पुरानाहरूलार्इ खुइल्याउँछन् । अफगानिस्तानमा नजिबुल्लाहको सत्ताका विरूद्धमा अमेरिकाद्वारा उचालिएका मुजाहिद्दिनहरू सत्तामा पुगेपछि तिनका विरूद्ध अमेरिकाले तालेवान गठन गर्न लगाएको र तालेवानले सत्ता हत्याएपछि त्यसमाथि आफैले आक्रमण गरेको उदाहरण हाम्रै नजिक छ।
माओवादीलार्इ ०६४ को चुनावमा आकाश पुर्यार्इयो, किनकि १० बर्ष पालेको ऋणचुक्ता बापत त्यसको पहलमा गराउनु पर्ने कामहरू थुप्रै थिए, जो संसदवादीहरूको पहलमा हुन सक्दैनथे। जब मूलभूत काम सकियो, माओवादी पनि पाताल पुर्यार्इयो, किनभने त्यसपछि तमलोपा, फोरम जस्ता विकल्पहरूले सडकमा मार्च गर्न सुरू गरिसकेका थिए।
साझा सवालमा दर्शक र श्रोताहरूले सोधेका प्रश्नहरूलार्इ अनर्थ लगाउनु हुँदैन तर बिबिसी पत्रकारले गरेका प्रतिप्रश्नहरूका पछाडि सामान्य भाव छैन। यसमा प्रश्न सोध्ने प्रतिनिधिहरु पनि वेलायतले खढा गरेका पात्र हुन् भन्ने चर्चा पनि चलिरहेकै छ । तर बिडम्बनाको कुरा के छ भने हामी देशको प्रधानमन्त्री हुन् भनेर उनको लाज छोप्न खोज्छौं, उनी चाहिं देशको लंगौटी थुतेर तिनै विदेशीका लागि काम गर्छन्। यो केवल मालिक र नोकरकाबीचको सम्बन्ध हो।












