१९ असार, खोटाङ, । खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये नेकपा एमालेले पाँच, नेपाली काँगेस चार र नेकपा माओवादी केन्द्र एक तहमा विजयी भएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा एमालेले एक नगरपालिका र चार गाउँपालिका, काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका तथा माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजयी भएका हुन् ।
जिल्लाको सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले प्रमुख÷उपप्रमुखसहित पाँच वडामा जितेको छ । १५ वडा रहेको उक्त नगरपालिकामा तीन काँग्रेस, तीन माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम र माओवादी केन्द्र एक एक वडामा विजयी भएका छन् ।
त्यस्तै हलेसी तुवाचुङ नगरपालिकामा काँग्रेसले प्रमुख÷उपप्रमुखसहित आठ वडामा विजयी भएका छन् । एघार वडा रहेको उक्त नगरपालिकामा दुई एमाले र एक वडामा माओवादी केन्द्र विजयी भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्षसहित दुई वडामा काँग्रेस विजयी भएको छ भने उपप्रमुखसहित एमालेले तीन र माओवादी केन्द्रले दुई वडामा विजयी भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए ।
यसैगरी केपिलासगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित चार वटा वडामा एमाले विजयी भएको छ भने सात वडा रहेको उक्त गाउँपालिकामा काँग्रेसले दुई र माओवादी केन्द्रले एक वडामा जितेका छन् ।
लामीडाँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित एमालेले दुई वडामा विजयी भएको छ । उक्त गाउँपालिकामा काँग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक वडामा वडाध्यक्ष जिते।
बराहपोखरी गाउँपालिकाको अध्यक्षसहित काँग्रेसले दुई वडाअध्यक्ष जितेको छ । छ वडा रहेको उक्त गाउँपालिकामा एमालेले उपाध्यक्षसहित तीन र माओवादी केन्द्रले एक वडामा विजय प्राप्त गरेको छ ।
त्यस्तै जन्तेढुङ्गा गाउँपालिकका अध्यक्ष एवम् उपाध्यक्षसहित चार वडामा नेकपा एमाले विजयी भएको । ६ वटा वडा रहेको उक्त गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले एक÷एक वडाअध्यक्ष जितेका छन् ।
निर्वाचन कार्यालयका अनुसार दिप्रुङ गाउँपालिकामा काँग्रेसले अध्यक्ष÷उपाध्यक्षसहित चार वडामा विजयी भएको छ । सात वडा रहेको उक्त गाउँपालिकामा एमालेले तीन वटा वडामा जितेको छ ।
यसैगरी खोटेहाङ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षसहित छ वडामा एमाले उम्मेदवारहरु विजयी भएका छन् । नौ वडा रहेको उक्त गाउँपालिकामा दुई माओवादी केन्द्र र एक वडामा काँग्रेस विजयी भएको छ ।
साकेला गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षसहित एउटा वडामा विजय प्राप्त गरेको छ । पाँच वडा रहेको उक्त गाउँपालिकामा काँग्रेसले उपाध्यक्षसहित दुई वडा तथा एमालेले दुई वडामा जीत हात पारेका छन् ।












