१९ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अध्यागमन विभागमा गलत काम गरिरहेकाहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । अध्यागमनमा देशलाई घाटा हुने गरी कर्मचारीले गलत काम गरेको सूचना आफूले पाएको र छिट्टै छानविन गरी कारवाही गर्ने चेतावनी उनले दिएका हुन् । विभागमा योजनाबद्ध रुपमा गलत काम भएको सूचना आफूसँग आएको र त्यस्तालाई माफी नदिने उनले बताए ।
सोमबार अध्यागमन विभागको ‘नेपाल इमिग्रेसन’ नामक मोबाइल एप सार्वजनिक गर्दै मन्त्री शर्माले भने, ‘म कहाँ आइपुगेका सूचना गलत पनि हुनसक्छ सही सूचना हुन् भने गलत गर्नेहरु कारबाही भोग्न तयार भएर बस्नुहोला ।’
उनले भने, ‘यदि योजनाबद्ध रुपमा जनता र राष्ट्रलाई घाटा हुने काम गर्नेहरुका लागि भने खराब भन्दा खराब मान्छे हुनेछु । यो कुनै चेतावनी हैन बुझन् सजिलो होस् भनेर भनेको हुँ ।’
अध्यागमनमा हुने गरेको गलत कामको सूचना आफूलाई आइरहेको भन्दै उनले त्यसको छानबिन गरी आवश्यक निर्णय लिइने बताए । योजनाबद्ध तरिकाले गलत काम गर्ने र देशको बदनाम गर्नेहरुलाई कुनै पनि शर्तमा क्षमा नदिइने उनको भनाइ छ ।
‘मेरो एउटा कुरा तपाईंलाई भन्न चाहन्छु, राष्ट्रप्रति हामी सबै इमान्दार हुनुपर्छ । इमान्दारीतापूर्वक काम गर्दा केही गल्ती हुन पुगे त्यो क्षम्य हुन्छ तर स्वार्थमा लागेर राष्ट्रलाई धोका दिने काम कसैले गर्छ भने त्यो क्षम्य हुँदैन ।’
मन्त्री शर्माले सेवाग्राहीमैत्री बन्न र तत्काल सुधारका काम थाल्न कर्मचारीहरुलाई निर्देशन दिए । कर्मचारीहरुलाई साथीको रुपमा व्यवहार गर्न चाहेको भन्दै उनले भने, ‘मन्त्रीको रुपमा ज्यादा औपचारिकता चाहन्नँ । मन्त्री कुनै विशेष पद होइन, तपाईंहरुको साथी हुँ, साथीको रुपमा ब्यवहार गर्न चाहन्छु ।’












