१८ असार, काठमाडौँ । राप्रपाले अवैधानिक नेटवर्किङ व्यवसायमा लागेर धेरै नेपालीको रकम ठगी गरेका व्यक्तिलाई धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा नियुक्त गरेको छ । नेटवर्किङ व्यवसायमार्फत धेरै व्यक्तिको रकम ठगी गरेको आरोपमा प्रहरीको पक्राउ सूचीमा रहेका व्यक्ति पुष्पराज पुरुषलाई राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको सांस्कृतिक विभाग प्रमुखमा नियुक्त गरेका हुन् । पुष्पराज पुरुष अवैध कारोबारका कारण केही समय भूमिगत रहेका थिए । ठगीका कारण प्रहरीको खोजीमा रहेका उनले अर्धभूमिगत रुपमा राप्रपाकै एक सांसद र उनका पति पूर्वदरवारिया एक गुरुको संस्थामा केही समय काम गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको धर्म तथा संस्कृति समन्वय विभागको प्रमुखमा पुष्पराज पुरुषलाई आज मनोनयन गरिएको सो दलका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिएको राससले जनाएको छ ।
आफूलाई हिन्दूवादी दलका रुपमा चिनाइरहेको राप्रपाले तत्कालीन राप्रपा नेपालको मेचीमहाकाली यात्राको रथयात्राका योजनाकार वीरेन्द्र कापरले यो पदको नेतृत्व गर्ने भने पनि उनलाई यो पद दिइएको थिएन । कापर नेपालमा रहेका दुई जगतगुरुमध्ये एक हुन्, जो भारतमा समेत हिन्दू धर्मको प्रचारका लागि प्रसिद्ध छन् । धर्मको नेतृत्व गर्ने व्यक्ति नल्याएर ठगीको आरोप लागेका व्यक्तिलाई धर्म विभागको प्रमुखमा नियुक्त गर्नुलाई पार्टी नेता तथा कार्यकर्ताले विडम्बनायुक्त भएको बताएका छन् ।












