१८ असार, इलाम, । नेपालकै सबैभन्दा पुरानो नगरपालिकाका इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजय हासिल गरेको छ । दोस्रो संविधानसभा निर्वाचनमा एमाले नेता झलनाथ खनालसँग प्रतिश्पर्धी रहेर पराजित भएका कांग्रेसका हिमालय कर्माचार्यलाई हराउँदै एमालेकै मेयर उम्मेदवार महेश बस्नेतले जीत हासिल गरेका हुन् । वस्नेत११ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिमालय कर्माचार्यले ९ हजार २६८ मत प्राप्त गरे । २० वर्षअघि भएको स्थानीय निर्वाचनमा वस्नेतले झिनो मतान्तरमा कर्माचार्यलाई हराएर मेयर चुनिएका थिए । त्यतिबेला वस्नेतले २ हजार १ सय ७४ तथा कर्माचार्यले २ हजार १ सय १ मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा एमालेकै सुशीला नेम्वाङले १० हजार ९४६ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चन्दा कार्कीले ९ हजार २५४ मत प्राप्त गरेकी थिइन् ।
इलामका बाह्र वडामध्ये वडा नं १, २, ५, ६, ९ र १० एमाले विजयी भएका छन् भने वडा नं ३, ४, ११ र १२ मा काँग्रेसले विजयी भएको छ । त्यस्तै वडा नं ७ र ८ को वडाध्यक्ष काँग्रेसले र अन्य सदस्यमा एमाले जितेको छ ।
नगरपालिका प्रमुख बस्नेत २०५४ सालको स्थानीय निकाय निर्वाचनमा पनि इलाम नगरपालिकाको मेयरमा विजयी भएका थिए । विसं २०४२ सालको पञ्चायतकालीन स्थानीय चुनावमा निर्वाचित भई प्रधानपञ्च बनेका र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनी बस्नेतसँगै ७३ मतले पराजित भएका कर्माचार्यले २० वस्नेतसँग वर्षपछि प्रतिश्पर्धा गर्दा पनि जित्न सकेनन् ।












