असार १४, २०७४ (काठमाडौं) स्थानीय निकायको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर १, ५ र ७ का सबै निकायहरुमा मतदान भैरहेको छ । खेतीवाली लगाउने चटारो छाडेर वर्षाको पानीमा रुझ्दैभिज्दै हिमालदेखि तराईसम्मका जनता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।
पूर्वी नेपालका झापा, इलाम, धनकुटा खोटाङलगायतका जिल्लाहरुमा वर्षा भए पनि सर्वसाधारणहरु मतदानमा सहभागी भएका छन् । मध्यपहाडी क्षेत्रमा समेत आज वर्षा भैरहेको छ । तर वर्षाले मतदातालाई रोकेको छैन ।
तराईको एउटा दलका कारण स्थानीय तहको निर्वाचन एकैपल्ट हुन नसक्दा जनताले मध्यअसारको खेतीवाली छाडेर मतदान गर्नुपरेको हो । यद्यपि २० वर्षपछि भएको स्थानीय निर्वाचन र संघीयतापछिको पहिलो निर्वाचनमा हिमालदेखि मधेसी दलको प्रभाव रहेको भनिएका तराईका जिल्लामा पनि शान्तिपूर्ण वातावरणमा निर्वाचन भैरहेको छ ।
तराईका जनता निर्वाचनको विरोधमा रहेको राजपाले दावी गरे पनि त्यस क्षेत्रका जनता झन् बढी उत्साहित देखिएका छन् । मधेसी तथा मुस्लिम समुदायका मतदाता विहानैदेखि मतदानमा सहभागी भऐका छन् । मधेसीहरुको बाक्लो वस्ती रहेको रुपन्देही, नवलपरासी तथा मोरङलगायतका जिल्लामा मतदाताहरु उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।
आज भएको मतदानबाट तीन प्रदेशका ३ सय ३४ स्थानीय निकायमा जनप्रतिनिधि चुनिने छन् । देशका सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते चुनाव गर्ने निर्णय सरकारले गरेको छ।
















