१३ असार, काठमाडौं । साझा यातायातले अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई निशुल्क यात्रा गराउने भएको छ। साझाले काठमाडौँ महानगरपालिकासँग गरेको सम्झौताअनुसार अब जेष्ठ नागरिकले निशुल्क यात्रा गर्न पाउने भएका हुन्। साझा यातायातमा महानगरपालिका १५ करोड सेयर लगानी गर्ने सम्झौतासँगै यस्तो घोषणा गरिएको हो । साझाले ५ वर्ष मुनिका बालबालिकालाई पनि निशुल्क सेवा दिने बताए पनि यो सेवा अन्य यातायातमा समेत कायम छ ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरले मंगलबार एक कार्यक्रम गरी यस्तो सम्झौतामा हस्ताक्षर गरेको हो। सम्झौताअनुसार महानगरपालिकाले मंगलबार साझा सहकारीलाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। साझा यातायातका अध्यक्ष कनकमणि र मेयर शाक्यबीच यस्तो सम्झौता भई चेक हस्तान्तरण भएको हो ।
महानगरपालिकासँग साझाले गरेको सम्झौता अनुसार नै साझाले क र ख वर्गका अपाङ्गता भएका र अति गरिबीको परिचयपत्र प्राप्त गरेको नागरिकलाई पनि निशुल्क सेवा दिने छ ।
‘महानगरवासीले सुरक्षित, सहज र सर्वसुलभ यातायातको अनुभूत गर्न सकून् भनेर हामीले साझासँग यस्तो सम्झौता गरेका हौँ,’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने , ‘साझाले थप सेवाको योजना बनाएर हामी सहयोग गर्न तयार छौ तर, उहाँहरुको योजना नाफामूखी होइन सेवामुखी हुनुपर्छ।’
मेयर शाक्यले महानगरमा केबुलकार, मोनोरेल, मेट्रोरेल निर्माणका लागि प्रस्ताव आएको भन्दै सेवामुखी प्रस्तावलाई स्वीकार गर्ने जानकारी दिए । महानगरमा १ सय बढी साझाका बस सञ्चालन तयारी रहेको पनि शाक्यले बताए । स्माटकार्डको सुरुवात साझाबाट सुरु गरेको भन्दै शाक्यले महानगरलाई स्मार्ट सिटी बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।













