१३ असार, इटहरी। पूर्वसांसद कुमार फुदुङको घरपरिसारमा मृत भेटिएकी महिलाको विषयलाई लिएर फुदुङमाथि आक्रमण भएको छ । घटनाको सत्यतथ्य छानविन माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयहरुले फुदुङमाथि आक्रमण गर्दा उनको टाउकोमा चोट लागेको छ । घाइते फुदुङलाई प्रहरीले कडा सुरक्षाका साथ सुरक्षित स्थानमा पुर्याएको छ ।
आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् ।
महिलाको मृत्यु शंकास्पद देखिएको र प्रहरीले फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीयवासी उनको घर घेराउ गर्न गएको थिए । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका थिए । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।
फुदुङको घर परिसर निकै ठूलो छ र बगैंचा पनि छ । त्यहाँ केही समय अघि रिसोर्ट समेत सञ्चालनमा थियो । त्यसबेला रिसोर्टमा काम गर्ने २९ वर्षीय रञ्जु ठकुरी आइतबार फुदुङको घरमा रहेको लिची बगैंचाको पोखरीमा मृत भेटिएकी थिइन् । उनको खुट्टामा निलडाम भएको पाइएको छ ।
उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम रहेको भन्दै स्थानीयवासीले मृत्यु शंकास्पद भएको बताएका छन् ।
फुदुङ नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् ।













