१३ असार, काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनमा सर्वाधिक विवादास्पद स्थान भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने या नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले केही दिनमै फैसला गर्ने भएको छ । दोस्रो चरणको निर्वाचनलाई असर नगर्ने गरी सर्वोच्चले फैसला गर्ने भएको हो । भरतपुरमा मतगणनाका क्रममा च्यातिएका ९० मतपत्र आज सर्वोच्च अदालतमा पेश गरिँदै छ । त्यस्तै पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कल निर्णय समेत आज सर्वोच्चमा पेश हुँदैछ । च्यातिएका मतपत्र र आयोगको निर्णय पेश भएपछि त्यसका आधारमा अदालतले अन्तिम निर्णय दिने भएको हो ।
अदालतको आदेश अनुसार च्यातिएका मतपत्र र त्यसको मुचुल्का समेत काठमाडौं पठाइएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै मतपत्र च्यात्नेमा संलग्न रहेको भनी प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेका माओवादी कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेमाथि चलेको मुद्दाको सक्कल मिसिल समेत सर्बोच्च अदालतमा पठाइसकिएको छ ।
सर्वोच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने निर्वाचन आयोगको सक्कलप्रति समेत झिकाएको थियो । ती सबै मिसिल र निर्णयहरु हरेपछिमात्र अदालत निष्कर्षमा पुग्नेछ ।
कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले ती कागजपत्र पेश गर्न एक साताको समय दिएको थियो । अदालतले सक्कल कागजात र मिसिल पेश गर्नु भनेको आज सात दिन पुगेको छ ।
अदालतले मागेका सबै कागजपत्रहरु सर्वोच्च अदालतमा पेश भए पनि आजै बहस र फैसला भने हुने छैन । अदालतले मागेका प्रमाणहरु जम्मा भएपछि अर्को पेशी तोकिने र त्यही दिन बहसका क्रममा ती कागजहरु इजलासमा पेश हुने छ ।
भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ७८३ मतले माआवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पारिरहेका थिए । १९ नम्बर वडाको मत गणना आधा भन्दा बढी सकिएपछि मतपत्र च्यातिएको थियो ।












