११ असार, २०७४ (डडेल्धुरा) । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव प्रचारको समय सकिने दिन आइतबार आफ्नो गृहजिल्लामा पुगेर चुनाव जित्नका लागि अनेक आश्वासन दिएका छन् । तर उनको आश्वान कुनै नयाँ नभएर एमालेले बेचिरहेकै वृद्धभत्ता दोब्बर पार्ने आश्वासन प्रमुख थियो । गृहजिल्लाको अमरगढीमा आयोजित चुनावी सभामा महिला र वृद्धवृद्धाको पुष्पगुच्छा लिँदै देउवाले वृद्धभत्ता दोब्बर पार्ने आश्वास दिएका हुन् ।
आइतबार अमरगढी नगर कमिटीको चुनाविसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले डडेल्धुराको विकासका निम्ति निर्वाचन पहिलो खुड्किलो रहेको भन्दै उनले कांग्रेसले जितेमा जिल्लाका सबै समस्या समाधान गर्ने आश्वासन दिए ।
टिकट वितरणमा जिल्लामा असन्तुष्टि देखिएको कुरालाई सम्बोधन गर्दै देउवाले भने जिल्लामा पार्टीभित्र धेरै जना योग्य उम्मेदवार भए पनि टिकट एक जनालाई मात्र दिन मिल्ने हुँदा कोही रुष्ट नहुनू ।
उनले हरेक कार्यकर्ताको उच्च मूल्याङ्कन हुने र सबैलाई उच्च स्थान दिने समेत आश्वासन दिए ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी आरजु राणा, नेवि संघ सभापति नैनसिंह महर लगायतले सम्बोधन गरेका थिए ।
देउवा सोमबार र मंगलबार पनि गृह जिल्लाको सदरमुकाममै हुने छन् । १४ गते गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राम माविको मतदान केन्द्ररमा प्रधानमन्त्री देउवाले मतदान गरेर मात्रै काठमाडौं फर्किने कार्यक्रम छ ।
मतदानको दिनसम्म डडेल्धुरामै बस्ने देउवाले मौन समयमा समेत पार्टीको आन्तरिक असन्तुष्टि साम्य पार्ने र डडेल्धुरामा कांग्रेसलाई विजयी गराएर आफ्नो किल्ला कायम राख्ने योजनामा उनी रहेका छन् । आमसभामा आफूलाई फूलले स्वागत गरे पनि असन्तुष्ट स्थानीय नेता तथा कार्यकर्ताले कांग्रेसलाई भोट नदिएर अन्तरर्घात गर्ने हुन् कि भन्ने आशंका डडेल्धुरामा देखिएको छ । आफू बसाइँको अवधिमा देउवाले यो कुरालाई पनि समाधान गर्ने योजना बनाएका छन् । मौन अवधि सुरु भए पनि नेता कार्यकर्ता भेटघाट र बैठकका लागि मौन समय आकर्षित नहुने भएकोले देउवाले आफ्नो गृहजिल्लाको पार्टीभित्रको आन्तरिक समस्यामा ध्यान केन्द्रित गर्ने बताइएको छ ।
आमसभामा देउवालाई पुष्पगुच्छाले स्वागत गरेका डडेल्धुरावासीले उनको दललाई भोट पनि दिएर इज्जत जोगाइदेलान् या नजोगाइदेलान् भविष्यले नै बताउने छ ।














