११ असार, खोटाङ । पहिलो संविधान सभाको निर्वाचनबाट आकस्मिक रुपले सबैभन्दा ठूलो दल बनेको माओवादी दोस्रो संविधान सभामा खुम्चिएर तेस्रो बन्यो । माओवादी ठूलो हुनुको कारण पनि त्यसको नेतृत्व हो र गर्लम्म ढल्नुको कारण पनि अरु कोही नभएर नेतृत्व नै हो । र, माओवादी नेतृत्व भन्नु नै पुष्पकमल दाहाल प्रचण्ड हुन् ।
पहिलो संविधान सभामा अप्रत्यासित जित देखेर हौसिएको माओवादीले भोट यतिकै आउँछ भन्ने ठानेका कारण दोस्रोमा उसलाई मतदाताले राम्रै स्वाद चखाइदिए । ऐयासीहरुको कब्जाले पार्टी बदनाम भएपछि मोहन वैद्यहरु छुट्टिए र मात्रिका यादव र मणि थापा पनि बाहिरै थिए । तर पनि संसदीय धारको नयाँ शक्ति भएकै कारण दोस्रो संविधान सभामा माओवादीले नाक जोगाउने भोट पायो । यद्यपि चोट पर्यो माओवादीलाई र अलिसमय धम्की पनि दियो संविधान सभामा जाँदैनौं भनेर । यसले कांग्रेस एमालेले अँध्यारोको यात्रा हुने ठाने किनभने गणतन्त्र र संघीयतामा उनीहरु अन्योलमै थिए र छन् । त्यसो त पहिले एजेण्डा उठाएको माओवादी पनि भारतकै इसारामा रुमल्लिइरहेको छ ।
अन्ततः दोस्रो संविधान सभामा फकाइफुल्याइ गरेर कांग्रेस र माओवादीले माओवादीलाई संविधान सभामा ल्याए । फलस्वरुप संविधान पनि जारी भयो । सुशिल कोइरालालाई संविधान जारी गर्ने जस दिने गरी होस् या ओलीलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता दिएर होस् माओवादीले संविधान जारी गर्नमा योगदान दिएकै हो । तर, कतैबाट पनि माओवादी र माओवादीका अध्यक्ष प्रचण्डको यो कार्यको प्रशंसा नभएपछि प्रचण्ड आफैले खोटाङ पुगेर आफ्नो प्रशंसा आफै गरेका छन् । अर्थात् प्रचण्डले भनेका छन् – ‘ठूला दलका नेता भएकाहरुलाई चलाउने माउते मै हुँ ।’
स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि समेत झट्का व्यहोरेका प्रचण्डले यतिवेला केहीदिनदेखि आफू र आफ्ना नेताहरुलाई आश्वासन बाँड्न खटाएकै छन् । पश्चिम नेपालमा पुगेर आश्वासन बाँडेपछि प्रचण्ड आइतबार पूर्वी नेपाल हानिएका हुन् । आइतबार दिउँसो खोटाङको सिम्पानी पुगेर प्रचण्डले चुनावी सभालाई सम्बोधन गर्दै भने संविधान बनाउनेदेखि स्थानीय तहको संख्या निर्धारण र चुनावमा माओवादीकै निर्णायक भूमिका रहेको छ । ‘हेर्दा हात्ती माउतेभन्दा ठूलो र बलवान् पनि देखिन्छ । तर, हात्तीलाई माउतेले तह लगाउँछ अहिले कांग्रेस र एमाले हात्तीको भूमिका छन्, माओवादीले माउतेको भूमिकामा उनीलाई गणतन्त्र, संघीयता, स्थानीय तह र परिवर्तनको बाटोमा हिँडाइरहेको छ ।’
भर्खरै मात्र प्रधानमन्त्रीको पद छाडे पनि आफ्नो दललाई सत्तासाझेदार बनाइरहेका प्रचण्डले माओवादी केन्द्र सत्ताका लागि लुछाचुडी नगर्ने पार्टी भएको दावी गरे । उनले भने – ‘कांग्रेस एमालेलाई देश र जनताको हितभन्दा सत्ताको लुछाचुडी नै राम्रो लाग्छ । उनीहरु सहमति गर्छन् तर, पालना गर्दैनन् । धोका दिनु, छलछाम गर्नु र सत्ताका लागि देशलाई नै बन्धक बनाउनुलाई राजनीति ठान्छन् । बेइमानी माओवादीको चरित्र र संस्कारभित्र पर्दैन, माओवादी इमान र निष्ठाको राजनीति गर्छ ।’
यस्तै प्रचण्डले आइतबार नै खोटाङको दिक्तेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस जन्मकालदेखि गणतन्त्रवादी पार्टी नभएको र एमाले गणतन्त्रलाई बयलगाडा चढेर अमेरिका जानुजस्तै भनेको उल्लेख गरे ।
माओवादीले नजिते देश फेरि अप्ठ्यारोमा पर्नसक्ने उनले बताए । प्रतिगामी बाटो रोक्न माओवादीले जित्नुपर्ने उनको धारणा थियो ।












