१० असार, २०७४ (नेपालगञ्ज) । नेपालगञ्जमा गर्मीमात्र होइन, अनेक थोक छ । प्रदेश नं ५ मा पर्ने यो सहर पश्चिम नेपाल र सुदुर पश्चिमको ढोका बनेको छ । उद्योग, व्यापार, कृषि, होटल, पर्यटन र शिक्षामा पनि पछिल्लो समय यो सहर गुल्जार छ ।
उत्तरी सिमाना हुम्ला, जुम्ला, डोल्पा र पछिल्लो समयमा मानसरोवर जानेहरुको र त्यहाँबाट फर्कनेका लागि यो सहर हब नै हो ।
तर अहिलेको नेपालगंजमा देखिएको गुल्जार अरु केही नभइ्कन चुनावकै हो ।
नेपालगञ्जको चुनावी गणित
तराईका अन्य जिल्लामा भनिने जस्तो सामान्य तराई र पहाडी समुदायको मात्र संयोजन छैन, यो उपमहानगरपालिकामा । यहाँ, मुस्लिम मत निर्णायक छ । यहाँ व्यवसायिक र व्यापारिक समुदाय पनि उत्तिकै निर्णायक छ । त्यसो त पहाडी समुदाय पनि दुई थरीका छन् । ठुलो समुदाय गण्डकी र धौलागिरीको छ भने अर्को मध्यपश्चिम पहाडको ।
यहाँ प्रतिस्पर्धा गर्ने राजनीतिक दलको चर्चा गर्दा मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मात्र नभईकन राप्रपा, संघीय समाजवादी फोरम पनि उत्तिकै बलवान छन् । तर सबैले आफनो पल्ला भारी हुने दाबी गरे पनि अरुले सोचे जस्तो छैन नेपालगञ्ज ।
संगठनात्मक हिसाबले नेपाली कांग्रेस केही राम्रो देखिए पनि कांग्रेस धनाढ्य र मेडिकल कलेज माफियालाई उमेदवार बनाएको भनेर त्यागी र पुराना नेता कार्यकर्ता निकै रुष्ट छन् । जसकारण चुनावको मुखैमा कांग्रेसबाट पूर्वसांसद, गाविस अध्यक्ष लगायत अन्य नेता कार्यकर्ता माओवादी केन्द र संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसको पार्टी भित्रको किचलो र एमालेले मेयरमा कमजोर प्रोफाइलका समसुद्धिन सिद्धिकीलाई उमेदवार बनाएपछि माओवादी उमेदवार दामोदरप्रसाद आचार्य चुनाव जित्नेमा ढुक्क छन् । यद्यपी आजका दिनसम्ममा माओवादी र नेपाली कांग्रेस नै मुख्य प्रतिश्पर्धी रहेको जानकारहरु बताउँछन् । ‘यहाँ एमाले रेसमै छैन । जे हुन्छ कांग्रेस र माओवादी बीच नै प्रतिस्पर्धा हुन्छ,’ नेपालगंजमा रहेका विश्लेषक नरेन्द्रजंग पिटरले बताए ।
माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्य नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन। आचार्य पनि २०७० को संविधानसभामा बाँके ३ बाट तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग झिनो मतले पराजित भएका थिए। माओवादीमा भुमिगत कालदेखि नै सक्रिय रहेका र सहयोग गरेका तथा विगत लामो समयदेखि वामपन्थी राजनीतिमा संलग्न भएका आचार्यको नेपालगन्जका उद्योगी व्यवसायीसँग राम्रो प्रभाव छ। नेपालगंजको उद्योग बाणिज्य सघंमा उनी यति शक्तिशाली छन की उनी आफनो पालामा स्वतन्त्रमै उठेर चुनाव जितिदिए भने गत बर्ष भदौ महिनामा भएको नेपालगंजको उद्योग बाणिज्य सघंमा आर्चायले साथ दिएका नन्दलाल वैश्यले भारी मतले जित हासिल गरे । प्रजातान्त्रिक खेमाका भएपनि अहिलेको चुनावमा वैश्यले आर्चायलाई खुल्ला रुपमा सहयोग गर्दौ भोट मागेका छन् ।
त्यसो त आचार्यको पक्षमा राष्टिय महिला आयोगकी पूर्वअध्यक्ष शेष चादँताराले पनि भरपुर सहयोग गर्दै भोट मागेकी छन् । साथै पूर्वउपसभामुख पुर्णकुमारी सुवेदी पनि अहिले नेपालगञ्जमै माओवादीका लागि भोट माग्न लागिपरेकी छिन् ।
माओवादी अध्यक्ष प्रचण्डले नेपालगञ्ज पुगेर यो स्थानलाई टुहुरो हुन नदिने आश्वासन दिएका छन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनपछि आफूहरुमाथि सौतेनी व्यवहार हुन्छ कि भन्ने चिन्ता नेपालगञ्जवासीमा देखेको भन्दै प्रचण्डले नेपालगञ्जको अभिभावकत्व आफूले लिने घोषणा गरेका छन्।
माओवादीका मेयरका उम्मेदवार दामोदर शर्मासँग आफ्नो ‘हटलाइन’ सम्पर्क रहेको भन्दै उनले भनेका छन्, ‘दामोदरजीमार्फत नेपालगञ्जमा हुने गतिविधिमा सिधै सहयोग गर्नेछु । प्रचण्ड प्रत्यक्ष रुपमा तपाईहरुको साथमा छ । विकास निर्माणमा हेडक्वाटर र सरकार साथमा छ ।’
उनले नेपालगञ्जलाई औद्योगिक नगरीका रुपमा विकास गर्दै पश्चिम नेपालको हब बनाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले नेपालगंज उपमहानगरपालिकामा नेपालगंज मेडिकल कलेजका मुख्य संचालक एवं लगानीकर्ता सुरेशकुमार कनौडियालाई अगाडि सारेको छ ।
एमाललेलाई मार ख्वाउने अर्को कारण पनि छ । त्यो हो राप्रपााका धवलशमसेर राणाको उमेदवारी । त्यहाँ रहेको होटल बाटिकाका संचालक रहेका राणा २०५४ सालको स्थानिय चुनावमा एमालेको तर्फवबाट मेयरको चुनाव जितेका थिए । एक थरी मानिसहरु भन्छन – राणाले मुख्य गरी एमालेकै भोट काट्ने हुन् । त्यसो त पहिलो चरणको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा राप्रपाको उल्लेख्य भोट भएको देखेपछि एमालेले राप्रपासँग गठबन्धन समेत गरेको थियो । तर, नेपालगञ्जमा त्यो गठबन्धन पनि बनेको छैन । काठमाडौंमा आफ्नो भोट लिएर एमालेले राप्रपामा भोट नदिएको बुझाइ राप्रपाको छ । फलस्वरुप राप्रपाको बलियो पकड भएका स्थानमा उसले एमालेसँग बदला लिने कसरत पनि जारी राखेकै छ । यही कारणले पनि नेपालगञ्जमा राप्रपाका उम्मेदवार एमालेका लागि टाउको दुखाईको विषय बनेका छन् । उसो त भारतमा विहे गरेका राणाले सिमापारीबाट स्कर्पियो गाडीभरि पैसा ल्याउछन भन्नेमा धेरैको आशंका छ ।
पैसाको हिसावमा राणालाई माथ गर्न सक्नेमा नेपाली कांग्रेसका कनौडिया देखिन्छन् । जानकारहरु भन्छन्- ‘कनौडियाले अन्तिमसम्म पनि अर्बौं खर्च गर्नेछन् ।’
२३ वडाको नेपालगन्ज उपमहानगरपालिकामा ६५ हजार ५ सय ३० मतदाता छन् ।














