९ असार, २०७४ (विराटनगर) । प्रदेश नं १ को उद्योग व्यापारको केन्द्र विराटनगरमा चुनावी चहलपहल तीव्र बनेसँगै विराटनगर महानगरका उम्मेदवारसँग उनीहरुको विकासको योजनाबारे सर्वसाधारणले प्रश्न गरेका छन् । शुक्रबार विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मतदाताले मेयरका प्रत्यासीलाई विकासको एजेण्डाबारे प्रश्न गरेका हुन् । तर, विडम्बनाको कुरा मेयरका प्रत्यासीहरुले विकासको एजेण्डाको त कुरै छाडौं विद्यमान समस्या समाधानको योजना के छ भन्ने प्रश्नको समेत जवाफ दिन सकेनन् ।
विराटनगर महानगरको नेतृत्व गर्ने भनी मेयरमा उम्मेदवारी दिएका कांग्रेसका प्रत्यासी भीम पराजुली अन्तरक्रिया कार्यक्रम सुरु नहुँदै उठेर हिँडे भने एमालेका मेयरका उम्मेदवार विनोद ढकाल सर्वसाधारणको प्रश्नको जवाफ दिन नसकेर कार्यक्रम छाडेर हिँडे ।
विराटनगरको फोहोर व्यवस्थापन कसरी गर्ने र औद्योगिकरणमा कसरी अगाडि बढाउने भन्ने विषयमा अर्थविद् उपभोक्ताअधिकारकर्मी र मतदाताले उठाएका प्रश्नको जवाफ दिन नसकेपछि एमाले उम्मेदवार ढकाल कार्यक्रमबाट बाहिरिएको उद्योग संगठन मोरङका कार्यकारिणी समिति सदस्य राकेश सुरानाले बताए । उपभोक्ताअधिकारकर्मी कृष्ण भण्डारी मार्सेलीले गरेको प्रश्नको जवाफ नदिई ढकाल बाहिरिएका थिए ।
विराटनगरलाई कसरी समृद्ध बनाउने भन्ने विषयमा उद्योग संगठन मोरङले बिकासका लागि बहस कार्यक्रम नाम दिएर शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा कांग्रेस, एमाले, राप्रपा र संघीय समाजवादी फोरमका मेयर प्रत्यासीलाई जनताको प्रश्नको जवाफ दिनका लागि आमन्त्रित गरेको थियो । तर एमाले नेता ढकालकै जस्तै स्टेजमा रहेका राप्रपा र संघीय समाजवादीका उम्मेदवारहरुले पनि ठोस जवाफ दिन सकेका थिएनन् ।
एमाले, राप्रपा र संघीय समाजवादीका उम्मेदवारहरु कार्यक्रम सकिनु अघि नै बाहिरिएका थिए भने कांग्रेसका प्रत्यासी कार्यक्रम सकिनै लाग्दा अन्तरक्रिया कार्यक्रममा पुगेका थिए । कांग्रेस प्रत्यासी पराजुली कार्यक्रम केही ढिलो सुरु भएका कारण बाहिरिएर सकिने समयमा आइपुगेका थिए ।
विराटनगरको विकासका लागि कुन उम्मेदवारको के प्रतिबद्धता भनी उद्योग संगठन मोरङले गरेको कार्यक्रममा उम्मेदवारको स्पष्ट जवाफ नआउनुले चुनावपछि विराटनगरको भविष्य के हुने हो भन्ने कुरा अन्योलपूर्ण बनेको छ । हुन पनि हो अहिले त मत न चाहिएको हो, घरदैलोमा पुगेर अनुनय विनय गर्नुपर्छ । सार्वजनिक समारोहमा बोलेपछि बोलेको कुरा पूरा गर्नुपर्छ । कतै विराटनगरका उम्मेदवारको पनि काठमाडौं महानगरका निर्वाचित जनप्रतिनिधिको जस्तो दाउ त छैन चुनावअघि मोनोरेल र चुनावपछि खल्तीमा सेल (सेलफोन) ?
गाली खाएको भन्दै कार्यक्रमको बीचमै उम्मेदवारहरु उठेर हिँडेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्














