९ असार २०७४, (सिन्धुपाल्चोक) । तातोपानी नाका बन्द भएपछि सुन तस्करहरूको बाटो पनि बदलिएको छ । सुन तस्करीको रूटको नाममा कहलिएको नाका तातोपानी बन्द भएसँगै तस्करहरू पनि वैकल्पिक बाटोमा लागेका हुन् । अहिले तस्करहरूले रसुवागढी नाकाबाट तस्करी गर्न थालेको तथ्य बाहिर आएको हो । रसुवामा एक वर्षमा मात्रै २० किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाले एक वर्षमा २० किलो अवैध सुन बरामद गरेको हो । चीनको केरुङ नाकाबाट रसुवागढी हुँदै ल्याइएको अवैध २० किलो सुनसहित रसुवा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । चीनको केरूङबाट अवैध रुपमा काठमाडौं लैजान लागिएको सुनसहित रसुवागढीबाट गत मंगलबार सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–४ का ३० वर्षका कृष्ण बहादुर श्रेष्ठ पक्राउ परे । चीनबाट अवैध रुपमा दुई किलो सुन ल्याउन लागेको गोप्य सुराकी पाएको रसुवा प्रहरीले चार दिनदेखि नाकामा सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो ।
प्रहरीका अनुसार बा ७६ प ७८१० नम्बरको मोटरसाइकलमा सुन लिएर कृष्ण बहादुर श्रेष्ठ आउँदै थिए । प्रहरीले सुराकी पाएको मोटरसाइकल त आइपुग्यो तर सुन फेला परेन । रसुवागढीमा मोटरसाइकल चेक भयो । चेक गर्दा सुन फेला परेन । त्यसपछि इन्सपेक्टरको नेतृत्वमा अर्को टोलीले टिमुरेमा मोटरसाइकल चेक र्गयो । त्यँहा पनि हाता लाग्यो शुन्य । सुन फेला परेन । कुनै सीप नलागेपछि मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याएर चेक गरियो । र पनि सुन नभेटिएपछि मोटरसाइकलका पाट पूर्जा धमाधम खोल्दै चेक गर्न थालियो ।
बल्ल थाहा भयो कि मोटरसाइकलको तेल टयाङ्कीमा फल्स बटम वनाएर सुन ल्याइएको रहेछ । रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले भने ‘मोटरसाइकलको तेल टयाङ्कीमा अर्को टयाङ्की बनाएर लुगाले बेरेर सुन ल्याएको पत्ता लगायौं ।’ मोटरसाइकल र श्रेष्ठ पक्राउ परे । सुन पनि फेला पर्याे । सुन तस्कर गर्ने अर्का रुपेश भन्ने दिनेश रोक्का प्रहरीलाई जिल खुवाउँदै काठमाडौं छिरिसकेका थिए । काठमाडौं पुगेपनि उनी उम्कन सकेनन् । अन्ततः काठमाडौंबाट उनी पक्राउ परे । श्रेष्ठ पहिलो पटक पक्राउ परे पनि अहिलेसम्म उनले सात किलो सुन चीनबाट काठमाडौं पास गरिसकेका छन् । गएको चैत ३ गते नाका रसुवागढीबाट सात किलो सुनसहित ३५ वर्षे प्रकाश गैरे पक्राउ परे ।
उनी स्याङ्जाको वालिङ नगरपालिका– ९ घर भई रसुवाको उत्तरगया गाँउपालिका–२ बस्दै आएका थिए । बा १७ च २२७५ नम्बर सेतो स्कर्पियोमा सुन लुकाएर ल्याएको विशेष सुराकीको आधारमा उनी पक्राउ परे । त्यसबेला गैरेले ल्याउँदै गरेको ७ किलो सुन फेला परेको थियो । गएको पुस ६ गते २८ वर्षे विरेन लामा प्रहरीको पञ्जाबाट उम्कन पाएनन् । रसुवाको पार्वतीकुण्ड गाउँपालिका–३ का लामाको साथबाट प्रहरीले पाँच किलो सुन बरामद गर्याे ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय टिमुरेलाई सुनको सुराकी पहिल्यै आइसकेको थियो । बा ६८ प ७४५४ नम्बरको मोटरसाइकलको एयर फिल्टरमा लुकाएर ल्याएको पाँच किलो सुनसहित उनी पक्राउ परेका थिए । केरूङबाट अवैध रूपमा लुकाएर ल्याएको ६ किलो सुन सहित रसुवागढि नाकाबाट एक रसुवाको टिमुरे–५ का २५ वर्षे काङकाङ तामाङ पक्राउ परे । चीनको केरूङबाट रसुवागढि नाका आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेक गर्ने क्रममा शरीरमा डोरीले बाँधेर ल्याएको अवस्थामा सुन बरामद गरिएको हो । बरामद गरिएको सुनको नेपाली बजारमा मूल्य त्यसबेला झण्डै तीन करोड रुपैयाँ रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले बताउनुभयो । यो घटनाको बारेमा अहिले पनि अनुसन्धान भइरहेको छ ।
– २०७३ जेठ ३० गते – रसुवा टिमुरे–५ का काङकाङ तामाङ पक्राउ । उनको साथबाट ६ किलो सुन बरामद ।
– २०७३ पुस ६ गते – रसुवा गत्लाङ–२ का विरेन लामा पक्राउ । उनको साथाबाट ५ किलो सुन बरामद ।
–२०७३ माघ १० गते – सिन्धुपाल्चोकको सिम्पाल काभ्रे–७ का ४६ वर्षे चक्र बहादुर धमला पक्राउ । उनको साथबाट ११७ दशमलव ३२ ग्राम सुन बरामद ।
– २०७३ चैत ३ गते – रसुवा उत्तरगया गाँउपालिका–२ का ३५ वर्षे प्रकाश गैरे पक्राउ । उनको साथबाट ७ किलो सुन बरामद ।
– २०७४ असार ६ गते – सिन्धुपाल्चोक बाह्रबिसे नगरपाकिला–४ का ३० वर्षे कृष्ण बहादुर श्रेष्ठ र दिनेश रोक्का पक्राउ । उनीहरुको साथबाट दुई किलो सुन बरामद ।












