८ असार, २०७४ (काठमाडौ) । २०७१ सालमा गठन भएको कर फर्छ्यौट आयोगका दुई पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पूर्जी जारी गरे पनि फेला नपरेपछि सार्वजनिक सूचना जारी गरेको छ। आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी समाचारपत्र गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । उनीहरुलाई पत्र पठाएर आयोगमा उपस्थित हुन आग्रह गरे पनि अटेर गरेपछि पक्राउ पुर्जी जारी गरिएको थियो । पक्राउ पूर्जी जारी गरेर प्रहरीले खोज्दा पनि फेला पार्न नसकेपछि आयोगले सार्वजनिक सूचना जारी गरेको हो । २१ अर्ब रुपैयाँ अनियमित ढंगले कर मिनाहा गरिदिएको घटनाको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेर बयान लिइरहेको छ ।

बयानकै क्रममा महत र ढकाललाई अख्तियारले झिकाएको थियो । आयोगमा बसेर काम गरेका लुम्बध्वज महत तत्कालिन अर्थमन्त्री रामशरण महत निकटका चाटर्ड एकाउन्टेण्ड हुन भने उमेश ढकाल एमाले निकटका मानिन्छन् । फरार हुनुअघि दुवैजना अनुसन्धानलाई प्रभावित पार्न राजनीतिक दौडधुपमा रहेको बताइएको थियो ।
अख्तियारले सार्वजनिक गरेको सूचनामा भनेको छ– ‘कर फरछ्यौट आयोग, २०७१ का पदाधिकारीले भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धानको सिलसिलामा उक्त आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन सूचना जारी गरिएकोमा हालसम्म पनि उपस्थित नभई फरार रहेकाले निजहरुलाई देख्ने वा फेला पार्ने जोसुकैले यस आयोगको हटलाइन १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिई भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग पु-यउनु हुन हार्दिक अनुरोध गरिन्छ । यससम्बन्धी सूचना दिई पक्राउ गर्न सहयोग पु-याउने महानुभावलाई उचित पुरस्कार दिइने व्यहोरा पनि जानकारी गराइन्छ ।’











