८ असार, विराटनगर । चुनाव बहिष्कारमा लागेको राजपाले चुनाव विथोल्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रदेश नं १
को निर्वाचनका लागि मात्रै ३३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । अहिले परिचालन हुन लागेको सुरक्षाकर्मीको संख्या पूर्वाञ्चलमा दोस्रो संविधान सभामा परिचालित सुरक्षाकर्मीको संख्याभन्दा २५ प्रतिशले वृद्धि गरिएको हो । यो संख्या नेपाल प्रहरी र म्यादी प्रहरीको मात्रै हो । सशस्त्र प्रहरी र नेपाली सेनाबाट खटिने सुरक्षाकर्मीको संख्या जोडदा यस प्रदेशमा प्रर्याप्त सुरक्षाकर्मी खट्ने छन् ।
सुरक्षाका लागि १८ हजार नेपाल प्रहरी र १५ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षामा खटिने छन । यसबाहेक बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना समेत रहने छ ।
केन्द्रीय सुरक्षा रणनीतिअनुसार निर्वाचनको मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ ।
त्यसैगरी दोस्रो र अन्तिम घेरामा क्रमश सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिने छ ।
चुनावलाई लक्षित गरी अहिले सवै प्रहरी युनिटहरुमा निर्वाचन सेल निर्माण गरी सकिएको जानकारी पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरिक्षक रमेश भट्टराईले जानकारी दिए ।
प्रदेश नं १ मा १ हजार ३४९ स्थानीय तह रहेका छन् । जसमध्ये एक महानगरपालिका दुई उपमहानरपालिका ६० नगरपालिका,१०८ गाउँपालिका र १ हजार ४७८ वडा रहेका छन् ।












