८ असार, २०७४ (नेपालगञ्ज) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्ज पुगेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् । आफ्नै दलको समर्थनमा प्रधानमन्त्री बनेका देउवामाथि प्रचण्डले विगतको कुरा गरेर आरोप लगाएका हुन् । संकटकाल लगाएर टाउकोको मूल्य तोक्नेहरुले गणतन्त्रको रक्षा गर्न नसक्ने भन्दै प्रचण्डले देउवामाथि प्रहार गरेका हुन् । देउवा प्रधानमन्त्री भएको समयमा नै संकटकाल लगाएर माओवादी नेताको टाउकोको मूल्य तोकिएको थियो । तर तिनै देउवालाई फेरि प्रधानमन्त्रीको पदमा पुर्याउने काम गरेको माओवादी अहिले सत्ता साझेदार समेत रहेको छ ।

बाँकेको खजुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस समापतिमाथि प्रहार मात्र गरेनन् समग्र कांग्रेस पार्टी र एमालेमाथि नै गम्भीर प्रश्न उठाए । उनले भने चुनावमा कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्छ
गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादीले पाउनुपर्ने बताउँदै प्रचण्डले आफ्नो दललाई जिताउन आग्रह गरे ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गरेको कुराप्रति ध्यान दिन आग्रह गरे । त्यसका साथै आफ्नै नेतृत्वको सरकारले तीव्र आर्थिक वृद्धिदर हासिल गरेर विकासको उदाहरण दिएका उनले उल्लेख गरे ।











