७ असार, २०७४ (काठमाडौं) । पहिलो चरणको स्थानीय निर्वाचनमा पत्तासाफ भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी दोस्रो चरणको निर्वाचनभन्दा पहिले सरकारमा नजाने भएको छ । गणतान्त्रिक र धर्मनिरपेक्षता रहेको व्यवस्थामा सरकारमा पार्टी सहभागी भएका कारण चुनावमा राप्रपा पराजित भएको सो दलका नेताहरुको निष्कर्ष रहेको छ । पार्टी अध्यक्ष थापा सरकारमा जान हतारिए पनि अन्य नेता तथा कार्यकर्ताले यसको विरोध गरेका छन् ।
पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको एक नेताले जानकारी दिए । कांग्रेस एमालेले सरकारको विस्तार पनि चुनाव पछाडि नै योजनामा छन् ।
पार्टीभित्र सरकारमा जाने तथा नजाने विषयमा नै ठूलो विवाद देखापरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आफ्नो पार्टीले चुनावलाई प्राथमिकतामा राखेकाले सरकारमा जाने वा नजाने विषयलाई महत्व नदिएको बताए । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरी सरकारमा सहभागी हुन आग्रह गरेको भए पनि सरकार गठनका समय बेवास्ता गरेपछि सरकारमा नजानका लागि पार्टीको एउटा समूहले दबाब दिएको पाठकले बताए ।
अहिले चुनाव हुन लागेका सबै स्थानमा पार्टीले सक्रियता बढाउने र राम्रो सफलता कायम गर्नका लागि शीर्ष नेतृत्वलाई चुनावी क्षेत्रमा जान निर्देशन दिएको छ ।












