७ असार, २०७४ (चितवन) । टीकापुरमा प्रहरी हत्याका योजनाकार मानिएका मुख्य अभियुक्त रेशम चौधरीलाई करिश २ करोड रकम दिइएकोबारे गृहमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिएका छन् । वुधबार चितवन पुगेका मन्त्री शर्माले चौधरीको घर परिवारको भौतिक क्षति भएकाले सरकारले राहत दिएको भनी स्पष्टिकरण दिएका हुन् । गृहमन्त्री रहेकै बेला प्रहरीको मनोबल बढाउनुपर्ने अवस्थामा शर्माले यस्तो अभिव्यक्ति दिनु रहस्यमय मानिएको छ ।
रेशम चौधरीलाई क्षतिपूर्ति दिएकोबारे चितवनमा पत्रकारले सोधेको प्रश्नमा शर्माले टीकापुर घटनाका सबैमाथि न्याय गरिने बताए । चौधरी परिवारको भौतिक क्षति भएकोले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको उनले दोहोर्याए । प्रहरी तालिम केन्द्र चितवनमा प्रहरी प्रमुख प्रकाश आर्याल र गृहसचिव लोकदर्शन रेग्मीसँगै पत्रकारमाझ उपस्थित भएका गृहमन्त्री शर्माले टीकापुर घटनाबारे सरकार स्पष्ट रहेको समेत दावी गरे ।
टीकापुरमा प्रहरीको सामुहिक हत्याको घटनापछि रेशम चौधरी अर्धभूमिगत छन् । प्रहरीको खोजीमा रहेका चौधरीलाई माओवादी अध्यक्ष प्रधानमन्त्री बनेर भारत भ्रमणमा जाँदा भेटघाट गरेका थिए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका क्रममा एसएसपीसहित ८ जनाको हत्या भएको थियो ।
चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति दिने निर्णय गरेको थियो, जसको चर्को अलोचना भएको छ । माओवादीले जनयुद्ध गरिरहेका वेला रेशम चौधरी पूर्वराजाका आसेपासेसँग लागेका थिए । उनले तत्कालीन शाही सेनासँग निकट रहेर माओवादीको जासुसी समेत गर्ने गरेका थिए । तर अहिले माओवादीविरुद्ध जासुसी गर्ने चौधरीलाई माओवादी सम्मिलित सरकारले पुरस्कार दिएको छ ।
सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल कहिले पक्राउ पर्छन् भनी सोधिएको प्रश्नमा गृहमन्त्री शर्माले स्पष्ट जवाफ नदिई सर्वोच्चको आदेशको कार्यान्वयन हुने उल्लेख गरे ।












