६ असार, २०७४ (काठमाडौं) । घुस खाएर वा दलालहरुमार्फत नेपालको सवारी चालकअनुमतिपत्र रोक्नका लागि सरकारले ठूलो कसरत गरे पनि अनियमितता झन बढ्दै गएको पाइएको छ । जिल्लामा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा लामोसमयदेखि रोकिँदा राजधानीमा झन अनियमितता बढेको हो ।
त्यस्तै नेपालको लाइन्सेन्सले विदेशमा लाइसेन्स लिन पाइने भएकोले पनि नक्कली लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । नेपालमा स्मार्ट लाइसेन्सको सुरुवात भए पनि पुरानै लाइसेन्सको मोडेलमा पुरानै मिति राखेर विदेशमा बस्ने नेपालीलाई लाइसेन्स बनाइदिने गिरोह सक्रिय रहेको जानकारी नेपालदेशडटकमलाई प्राप्त भएको छ । हाल अष्ट्रेलियमा रहेका एक नेपाली विद्यार्थीले हालैमात्र नेपालको पुरानो लाइन्सेन्स बनाउन लगाएको बताए । अस्ट्रेलियमा नेपालको यस्तो नक्कली लाइसेन्स २ हजार डलरदेखि ४ हजार डलरमा विक्री हुने गरेको उनले बताए । नेपालको लाइसेन्स भएपछि अस्ट्रेलियमा त्यहीअनुसारको लाइसेन्स पाइने भएकाले नेपालीहरुले यस्तो नक्कली लाइसेन्स किन्ने गरेको उनले स्पष्ट पारे । नेपालको पुरानो मोडेलको लाइसेन्स बनाउने कार्यमा यातायात कार्यालयका कर्मचारी समेत संलग्न हुने गरेको जानकारी आफूले पाएको अस्ट्रेलिया निवासी ती विद्यार्थीले बताए ।
यसैबीच विभिन्न देशको लाइसेन्सलाई नेपालीकरण गर्ने क्रममा समेत नेपालका यातायात कार्यालयबाट ठूलो भ्रष्ट्राचार
भएको तथ्य बाहिर आएको छ । यही कारण यातायात व्यवस्थाविभागले देशकै बढी चाप हुने एकान्तकुनास्थित यातायात कार्यालयमाथि प्रतिबन्ध लगाएको छ । विदेशमा बनाइएका लाइसेन्सको नेपालीकरण प्रक्रियामा सो कार्यालयबाट ठूलो अनियमितता भएको पाइएपछि यातायात ब्यवस्था विभागले एकान्तकुनाको कार्यालयबाट हुने नेपालीकरणलाई रोकिएदिएको हो ।
विदेशमा लाइसेन्स लिएका व्यक्तिले सामान्य स्वस्थ्य परीक्षणपछि सोही क्याटेगोरीअनुसार सजिलै नेपालको लाइसेन्स लिन पाउने व्यवस्था भएकोले अनियमितता बढेको हो । विदेशको लाइसेन्सलाई सहजै नेपालीकरण गर्न पाउने व्यवस्था भए पनि कर्मचारीले अनेक वाहनामा रकम असुल्ने गरेको पाइएको हो । नेपालको नक्कली लाइसेन्सका कारण विदेशमा सहजै त्यहाँको लाइसेन्स लिएजस्तै विदेशको नक्कली लाइसेन्स बनाएर समेत नेपालमा लाइसेन्स लिने गरेको नयाँ रहस्य फेला परेको छ ।
एकान्तकुनाको कार्यालयमा सेवाग्राहीको चापका कारण भ्रष्ट्राचार बढेकोले यसलाई विकेन्द्रित गर्दै राजधानीका अन्य स्थानमा समेत सेवा दिन थालेको धेरै समय भैसकेको छ । यद्यपि रकम कुम्ल्याउन पल्केका कर्मचारीले अन्य कार्यालयको जिम्मेवारीमा समेत हस्तक्षेप गर्दै आएका छन् ।
घुस लिनका लागि अस्थायी कार्यालय खडा गरेर काम
राजधानी उपत्यकाका जगाति, सुकेधारा र ठूलाभर्याङलगायतमा रहेका कार्यालयका काममा समेत एकान्तकुनाका कर्मचारीले हस्तक्षेप गर्दै रकम कुम्ल्याउने गरेको तथ्य नेपालदेशडटकमले प्राप्त गरेको छ । सवारी जाँचपास गर्ने अनुमति पाएका अन्य कार्यालयले समेत आफ्नो अधिकारक्षेत्रका काम गर्न नदिइएको गुनासो गरेका छन् । भक्तपुरस्थित सल्लाघारीमा कार्यरत एक कर्मचारीले आफूहरुको काम एकान्तकुनाका कर्मचारीले खोसेको गुनासो गरे ।
सल्लाघारीको कार्यालयले गर्नुपर्ने सवारी जाँचपासको काम आफूहरुलाई गर्न नदिई एकान्तकुनाका कर्मचारीले खोसेको उनले बताए । सल्लाघारीको कार्यालय बाहिरको चौरमा आएर एकान्तकुनाका कर्मचारीले सवारी जाँचपासको नवीकरण गर्ने गरेको उनले जानकारी दिए । उने भने निश्चित बार तोकेर एकान्तकुनाका कर्मचारी कार्यालयबाहिरको चौरमा आएर सवारीको प्रदूषण जाँच गर्छन् र उनीहरुले नै जाँचपासको नवीकरण दिन्छन् ।
यसमा अनियमितता भएको समेत सो कार्यालयका कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए । उनले भने होइन भने सेवा दिने कार्यालय यहाँ हुँदाहुँदै एकान्तकुनाबाट कर्मचारी आएर बाहिर छुट्टै अस्थायी कार्यालय बनाएर किन सवारी जाँचपास नवीकरण गर्नुपर्यो ।
यो कार्यमा सल्लाघारीस्थित यातायात कार्यालयसँग कुनै समन्वय हुने नगरेको समेत ती कर्मचारीले बताए ।
यो घटनाले प्रदूषणको मापदण्ड नपुगेका सवारी साधनलाई नियमित रुपमा जाँचपासको नवीकरण गरिएको हुनसक्ने रहस्य खुलेको छ ।














