६ असार, २०७४ (दार्जिलिङ) । विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर गर्व गर्ने भारतले आफ्ना नागरिकहरुलाई इन्टरनेटमाथि प्रतिबन्ध लगाएर त्यस्ता सेवा बन्द गराएको छ । भारतको दार्जिलिङमा भैरहेको अधिकारको आन्दोलनलाई विश्वसामु पुग्न नदिन भारतले त्यस क्षेत्रमा इन्टरनेटका सबै सेवा बन्द गराएको हो । अनिश्चितकालीन आमहड्तालको दबाउन असफल भएपछि पश्चिम बंगाल सरकारले त्यस क्षेत्रमा इन्टरनेट बन्द गराएको हो।
तर, गोर्खाल्यान्ड र भाषिक आन्दोलनका लागि भइरहेको अनिश्चितकालीन आमहड्ताललाई सम्बोधन गर्नतिर नलागेर भारतले आन्दोलनलाई दबाउन थप अलोकतान्त्रिक कार्य गरेको हो । आन्दोलनलाई सम्बोधन गर्न छाडेर
इन्टरनेट बन्द गराउँदै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेदरल्यान्ड्सको भ्रमणमा निस्किएकी छिन्। उनी युनाइटेड नेशनको बैठकलाई सम्बोधन गर्न त्यता लागेको बताइएको छ।
यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भाषीहरुलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले हिंसाको बाटो छोडेर छलफलमा बस्न आग्रह गरेका छन्। गोर्खा जनमुक्ति मोर्चाको अपीलमा दार्जिलिङमा आन्दोलन भइरहेको छ। आन्दोलन दबाउने नाममा पश्चिम बंगालका सुरक्षाकर्मीले आफ्ना २ कार्यकर्ताको हत्या गरेको मोर्चाले जनाएको छ ।












