अभय राई
४ असार, २०७४ (काठमाडौं) । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न देशका उच्च शिखर आरोहण गरेका नेपाली आरोही तथा अल्ट्रा धावक सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ। अमेरिकाको आलस्कामा पर्ने डेनाली हिमाल आरोहण गर्ने क्रममा शुक्रबार पण्डितको मृत्यु भएको हो ।
पण्डितको मृत्यु भएको बारे अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले पुष्टि गरेका छन् । यस्तै दूतावासले पण्डितका आफन्तलाई उनको निधनबारे जानकारी दिएको समेत जनाएको छ ।
खराब मौसमका कारण पण्डितका शव शहरमा ल्याउन समस्या भएको र अन्य दुई नेपालीको अवस्था समेत अज्ञात रहेको छ ।
मौसमले साथ दिएमा २ दिन भित्र पण्डितको शव ल्याउन सकिने दूतावासका प्रवक्ता प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।
प्यूठान घर भएका पण्डितको मृत्युको कारण हाई अल्टिच्युड भएको जनाइएको छ ।आलस्का राज्यको डेनाली नेशनलपार्कमा अवस्थित डेनाली हिमालको उचाइ ६ हजार १ सय ९० मिटर रहेको छ ।
नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई अफ्रिकाको सर्वोच्च शिखर किलिमिञ्जिरो तथा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरिसकेका छन् ।
उनले आठ हजार मिटर माथिका हिमाल मनाश्लु, दक्षिण अफ्रिकाको उच्च शिखर किलोमान्जारो, युरोपको उच्च शिखर एलबुरस, अस्ट्रेलियाको उच्च शिखर कोजियस्को, अमेरिकाको उच्च शिखर एकन्कागुवा तथा जापानको उच्च शिखर फुजी जस्ता उच्च हिमशृङ्खलालाई चुमिसकेका छन् । केही समयपहिले मात्रै पण्डितले अन्टार्कटिकाको माउन्ट बिन्सोन मासिफर आरोहण गरेर फर्किएका थिए ।
उनले हालसम्म विश्वका ११ वटा हिमाल आरोहण गरेका छन् ।