असार ३, २०७४ (काठमाडौं) निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्ताको लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकेको छ ।
शनिबार आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा आयोजित पत्रकार सम्मेलनमा असार १४ गते हुने तीनवटा प्रदेशको निर्वाचनका लागि भोलि (आइतबार) हुने मनोनयनको समयबारे जानकारी गराएको हो । असार १४ गते प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुनेछन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दोस्रो चरणको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराए । उनले आइतबार तय भएको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसाग अपील समेत गरे । उनका अनुसार दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने आयोगले जनाएको छ । असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् । यसका लागि देशभर ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।
पहिलो चरणमा वैशाख ३१ गते आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ । २ नम्बर प्रदेशको निर्वाचन सरकारले असोज २ गतेका लागि सरेको छ ।












