३ असार, २०७४ (नवलपरासी) । नवलपरासीमा नेकपा एमालेको झण्डा जलाउने अराजक समुहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर ३ व्यक्ति घाइते भएका छन् । सदरमुकाम परासी बजारमा राजपाका कार्यकर्ताले गरेको अराजनीतिक गतिविधिका कारण उत्पन्न परिस्थितिका कारण अवस्था तनावग्रस्त बनेको हो । एमालेले चुनावका लागि बनाएको टीसर्ट जलाएपछि प्रहरी र राजपाका कार्यकर्ताबिच झडप हुँदा तीन जना घाइते भएका हुन् ।
जिल्लाको सदरमुकाम परासीमा सभा चल्दै गर्दा सभा नजिक मध्य नेपाल यातायात व्यवासायी समितिको काउण्टरमा राखिएको एमाले पार्टीको टिसर्टलाई राजपाका कार्यकर्ताहरुले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।
राष्ट्रिय जनता पार्टीको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र कार्यकर्ताबीच झडप भएपछि प्रहरीको चलाएको रबर गोलीले तीन जना कार्यकर्ता घाइते भएका हुन् ।
जमुनीका ५० वर्षीय नरसिंह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन् ।
प्रहरी र कार्यकर्ताबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिनका लागि तीन राउड रबर गोली फायर गरेको थियो भने आधा दर्जनभन्दा बढी अश्रुग्यासका सेल प्रहार गरेको छ ।
प्रहरीले छोडेको अश्रु ग्यासका कारण भागदौडमा अन्य ६ कार्यकर्ताहरु घाइते भएका राजपाको दावी छ । राजपाले सभामा गोली चलाएको आरोप लगाए पनि प्रहरीले झडपलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रयोग गरेको जनाएको छ ।












