असार ३, २०७४ (काठमाडौं । तराईका जनताको विश्वासमा नरहेको राजपाले सरकारप्रति लगाएको आरोपप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि जनाएका छन् । पहिले राजपाले प्रदेश नं २ को चुनाव सारे आफूहरुलाई मान्य हुने बताएको उल्लेख गर्दै देउवाले कुरा फेर्नु नैतिकता नहुने जवाफ राजपा नेतालाई दिएका छन् ।
५ नम्वर प्रदेशका तीन जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुको चुनाव प्रदेश नम्वर २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई देउवाले यो ‘असम्भव’ रहेको भनी फर्काएका छन् ।
माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर देउवा निवास बुढानिलकण्ठ गएका राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवलाई प्रधानमन्त्री देउवाले अब चुनाव सार्ने प्रस्ताव नगर्न आग्रह गरेको उनी निकट स्रोतले जानकारी दिएको छ । राजपासँगको सहमतिमै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको बताउँदै प्रधानमन्त्री देउवाले आन्दोलनको कार्यक्रम यथावत् राख्ने निर्णय राजपाले शुक्रबार गरेकामा असन्तुष्टि प्रकट गरेका थिए ।
तीनवटै प्रदेशका स्थानीय तहमा आइतबार मनोनयन हुँदैछ । चुनावको सक्रिय बहिष्कार गर्ने धम्की दिइरहेको राजपाले यसअघि स्थानीय तह थप भएका ११ जिल्लाकै चुनाव असोज २ मा सार्न आग्रह गरेको थियो । चुनाव सम्पन्न भएपछि २ नम्बर प्रदेशबाहेक अन्य ठाउँमा स्थानीय तहको संख्या थप गर्न नमिल्ने भन्दै एघार जिल्लाको चुनाव असोज २ मा गर्नुपर्ने प्रस्ताव राजपा नेता यादवले गरेका थिए ।
तर, देउवाले राजपा नेताहरुसँग भएको अनौपचारिक सहमतिअनुसार नै २ नम्बर प्रदेशको चुनाव सारिएको बताउँदै अन्य ठाउँमा चुनाव नरोकिने बताएका थिए ।
प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने माओवादी केन्द्रका नेता मातृका यादवले समय लिएर भेट्न आएको बताए । ‘राजनीतिक भन्दा पनि व्यक्तिगत कुरा गर्न उहाँहरु आउनु भएको हो,’ उनले भने, ‘बाहिर आएजस्तो चुनाव सार्ने प्रस्ताव लिएर आउनुभएको होइन ।’
राजपा नेता महेन्द्र यादवले भने प्रधानमन्त्री देउवासँगको भेटघाटबारे केही बताउन चाहेनन् ।












