३ असार, २०७४ जेनेभा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेदअन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताएकी छिन् ।
संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले भण्डारीको सम्मानमा शुक्रबार आयोजना जेनेभामा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुनसक्ने बताउँदै शताब्दीयौँदेखि विभेद गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुने बताइन् ।
राष्ट्रपति भण्डारीले विसं २०४९ अगाडि स्थानीय निकायका करिब दुई लाख पदमध्ये केवल १३६ मा मात्र महिला विजयी भएको देखिएकामा विकेन्द्रीकरणअन्तर्गत निर्वाचनमा २० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाबाट ३६ हजार महिला विजयी भएको र थप चार हजार महिला मनोनित हुँदा करिब ४० हजार महिला राजनीतिक पदमा स्थापित भएको उदाहरण प्रस्तुत गरिन्।
राष्ट्रपति भण्डारीले वर्तमान संविधानअन्तर्गत निर्वाचनमा महिला उम्मेदवारी ४० प्रतिशत अनिवार्य बनाउँदा र प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवारी अनिवार्य बनाउँदा हालैको निर्वाचनबाट धेरै महिला उपप्रमुखमा निर्वाचित भएको बताउँदै अब उनीहरूले पनि न्यायाधीशसरह अधिकार प्राप्त गरेको उल्लेख गरिन् ।
संसद्का लागि ३३ प्रतिशत स्थानमा महिला उम्मेदवारीको व्यवस्थाले ३३ प्रतिशत स्थानमै महिलाले विजय हासिल गरेको बताउँदै सभामुख र उपसभामुखमा एक पद तथा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पद महिलाले प्राप्त गर्दा उनीहरूलाई अनुभवी तथा व्यवहारिक बनाउने बताइन् ।
राष्ट्रपति भण्डारीले अब आर्थिक विकास गरी लोकतन्त्रको फाइदा जनतालाई उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । उनले प्रवासी नेपाली मुलुकको सद्भावना दूत भएको बताउँदै उनीहरूले जनस्तरका साथै सरकारी र कूटनीतिक स्तरमा समेत प्रभाव पार्नसक्ने र विदेशमा सिकिएको सीप स्वदेशमा उपयोग गर्न सकिने उनको भनाइ थियो ।
जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई सम्बोधन गर्न यहाँ पुगेकी राष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा स्विट्जरल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका सदस्य, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनका लागि नेपाली प्रतिनिधि तथा राष्ट्रपति भण्डारीका भ्रमण दलका सदस्य पनि उपस्थित थिए ।
कार्यक्रममा स्विट्जरल्यान्डका लागि नेपाली राजदूत धितालले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा नेपालको सहभागिता र नेपालले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराउनुभएको थियो ।













