२ असार,२०७४ (काठमाडौं) । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशनम्बर २ को निर्वाचन सारको अवस्थाले छिमेकी देश चीन र भारतमा तरंग पैदा भएको छ । चीनले यसलाई अस्वाभिक रुपमा हेरेको छ भने भारतले आफू सफल भएको रुपमा हेरेको छ । तर महत्वपूर्ण कुरा के हो भने दुवै देश एकसाथ तरंगित भएका छन् । फलस्वरुप दुवै देशका राजदूतले शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्दै चासो व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निर्वाचित हुनेवित्तिकै देउवाले दुवै छिमेकीको सम्बन्धलाई समानरुपले अगाडि बढाउने धारणा व्यक्त गरेका थिए । तर नेपाललाई विखण्डन गराउने भारतको योजनाअनुरुप नै देउवा अघि बढेकोले चीन सशंकित बनेको हो ।
देउवासँग चिनियाँ र भारतीय राजदूतहरुले शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । छुट्टाछुट्टै भेटवार्ताका क्रममा दुवै देशका राजदुतले छुट्टाछुट्टै धारणा समेत व्यक्त गरेका छन् । भारतले चुनावी योजनाको विखण्डनलाई प्रतीकात्मक रुपमा अथ्र्याउँदै भारत सफल भएको र यसमा साथ दिएकोमा देउवालाई धन्यवाद दिएको अति गोप्य स्रोतले नेपालदेशडटकमलाई बताएको छ ।
तर चीन भने धेरै सशंकित बनेको छ । वान वेल्ट वान रोडमा सम्झौता गरेको नेपालले यसमा समेत धोका दिने हो कि भन्ने आशंका चीनको छ । नेपालका तर्फबाट यस्तो नहुनेप्रति चीन विश्वस्त रहेको भनी नेपालका लागि चिनियाँ राजदूत यु होङले देउवासमक्ष कुटनीतिक कुरा राखेका थिए ।
भेटमा राजदूतद्वयले आसन्न स्थानीय तहको चुनावमा चासो व्यक्त गरेकोमा प्रधानमन्त्री देउवाले सबैलाई सहमतिमा ल्याएर चुनाव गराउन सरकारले प्रयास गरिरहेको जवाफ दिएका थिए ।
नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले देउवाको निर्णयका लागि धन्यवाद दिएको भारतीय राजदुतावासको स्रोतले जानकारी दिएको छ ।
सरकारी सञ्चारमाध्यम राससले उपलब्ध गराएको भेटवार्ताको तस्वीरले समेत चीनको चासोप्रति देउवा चिन्तित रहेको र भारतीय राजदूतलाई भेट्टा प्रफुल्ल रहेको देखिएको छ । यो अवस्थाले देउवाको भित्री इन्ट्रेस्ट के हो भन्ने प्रष्ट पारेको छ । जब कि देउवा प्रधानमन्त्री बनेपछि भारतीय संचारमाध्यमले भारतसमर्थक देउवा नेपालको प्रधानमन्त्री बनेको हेडलाइनसहितको समाचार प्रकाशित गरेका थिए । दुवै छिमेकी देशको यस्तो चासो र देउवाको बडी ल्याङ्ग्वेजले समेत यो कुरा देखाउनुले नेपालको राजनीति थप रहस्यमय बनेको छ ।













