१ असार, २०७४ (काठमाडौं) । प्रदेश नं २ को निर्वाचन सार्ने सरकारको निर्णयसँगै निर्वाचन आयोगले असार १ गते विहीबार नयाँ सूचना जारी गर्दै निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले असार २ गतेका लागि निर्धारण गरेको उम्मेदवारी मनोनयनको मिति परिवर्तन गर्दै असार ४ गतेका लागि सारेको सो सूचनामा जनाइको छ । नयाँ सूचनाअनुसार प्रदेश नं १, ५ र ७ मा उम्मेदवारी दर्ताका लागि असार ४ गतेको मिति तोक्दै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने मिति असार ६ गतेका लागि तोकिएको छ ।
निर्वाचन आयोगको नयाँ सूचनामै प्रदेश नं २ को निर्वाचन असोज २ गतेका दिने तेस्रो चरणमा गर्ने निर्णय भएको औपचारिक जानकारी समेत गराइएको छ । प्रदेश नं २ को निर्वाचनमा खटिएका निर्वाचन अधिकृतलाई के गर्ने भन्ने अन्योल कायम राख्दै आयोगले थप निर्देशन पछि पठाइने जनाएको छ ।
यसअघि असार १४ गतेका लागि निर्धारित चुनावका लागि असार २ गते उम्मेदवार मनोनयनको मिति तोकिएको थियो ।













