३१ जेठ, २०७४ (विराटनगर) । सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलले किचिएर तीन जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा सिग्याहीमडानका २६ वर्षीय विनोद यादव रहेको सीमा प्रहरी कार्यालय जोगवनीले जनाएको छ । मङगलबार राति ८ बजे तीनै जना एउटै मोटर साइकलमा चढी रेलमार्ग पार गर्न खोज्दा तीव्र गतिमा आएको रेलले उनीहरुलाई किचेको थियो ।

को १७ प ३६९३ नम्बरको मोटरसाइकलमा उनीहरुले रेलको लिकबाट पार गर्न दुर्घटना भएको प्रहरी नायब निरीक्षक फिरोज चौधरीले जानकारी दिए । ५५७४२ नम्बरको सो रेल जोगवनीबाट कटिहार जाँदै थियो ।
भारतको अररियास्थित अस्पतालमा मृतकहरुको शव परीक्षणपछि उनीहरुको शव परिवारलाई बुझाइएको छ ।











