३१ जेठ, २०७४ (काठमाडौं) । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राजपाको विरोधका कारण २ नम्बर प्रदेशका कांग्रेस नेताहरु समस्यामा परेका छन् । २ नम्बर प्रदेशमा जर्वजस्ती निर्वाचनमा जाँदा अप्ठेरो पर्ने देखेपछि सो क्षेत्रका कांग्रेस नेताहरुले निर्वाचन सार्न सरकारलाई आग्रह समेत गरेका छन् ।
२ नम्बर प्रदेशका सांसद तथा केन्द्रीय सदस्यले वुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै चुनाव सार्न आग्रह गरेका हुन् । प्रदेश नं १, ५ र ७ पूर्वनिर्धारित मिति असार १४ मै चुनाव गर्न सकिने भए पनि २ नं प्रदेशमा भने तेस्रो चरणमा निर्वाचन गर्नु उपयुक्त हुने सुझाव उनीहरुले दिएका छन् ।
राजपालाई मनाएर प्रदेश नं २ मा असार अन्तिममा भएपनि चुनाव गर्न सकिने सुझाव आफूहरुले दिएको कांग्रेस केन्द्रीय सदस्य तथा सांसद महेन्द्र यादवले दिए ।
२२ वटा स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन भएमा राजपा चुनावमा आउनसक्ने यादवको दावी छ ।












