३१ जेठ, २०७४ (काठमाडौं) । दैलेखमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दैलेखको नैनाल भन्ने स्थानमा ना ४ ख २९९८ नम्बरको बस दुर्घटना भएको हो । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको बस आठवीस नगरपालिका वडा नम्बर ४ मा पर्ने नैनालस्थिति सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दु्र्घटनामा मृत्यु हुनेको सनाखत हुन बाँकी छ । हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिएका छन्। उद्धारका लागि प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारी र डिएसपी सहितको टोली घटना स्थल पुगिसकेको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ ।












