३० जेठ, २०७४ (काठमाडौं) । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो ।
हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।
यसअघि ११ प्रजातिका वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था थियो । हालै भएको दोस्रो संशोधनले तीन प्रजाति थपेर १४ प्रजातिका वन्यजन्तु र सरीसृपले आक्रमण गरेमा राहत पाउने व्यवस्था गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाका अनुसार २०६९ सालमा निर्देशिका जारी हुँदा हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिम चितुवा, जङ्गली बँदेल र अर्ना गरी आठ प्रजातिबाट आक्रमण भएमा राहत दिने व्यवस्था थियो ।
पहिलो संशोधन २०७२ ले ध्वाँसे चितुवा, ब्वाँसो र जङ्गली कुकुरलाई समेत थपेर ११ प्रजातिले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको थियो । हालै भएको संशोधन, २०७४ ले भने मगर गोही, अजिङ्गर र नीलगाईसमेत थपेर १४ प्रजातिका जनावर तथा सरीसृपले आक्रमण गरेमा राहत दिने व्यवस्था गरिएको थपलियाले जानकारी दिए ।
ती वन्यजन्तु तथा सरीसृपबाट मानिस घाइते भए उनीहरुको उपचारका लागि र मृत्यु भए उनका परिवारलाई राहत दिइने जनाइएको छ । जेठ १९ को मन्त्रिपरिषद्को निर्णयअनुसार राहत रकमलाई पनि दोब्बर बनाइएको छ ।
निकुञ्जका महानिर्देशक मनबहादुर खड्काले यसले संरक्षणमा राज्यले महत्व राखेको छ भनेर बुझ्न सकिने बताए । उनले वन्यजन्तुलाई बाहिर आउन नदिन भरपुर प्रयास भए पनि घटना भइरहेकाले द्वन्द्व घटनाउन सहयोगी हुने दाबी गरे।
अनुमति लिएर सामुदायिक वन क्षेत्रमा जाँदा र गाउँबस्तीमा आएर वन्य जन्तुले आक्रमण गरेको अवस्थामा मात्रै राहत पाइने छ । राष्ट्रिय निकुञ्जभित्र घटना भएमा भने राहत नपाइने सूचना अधिकारी अर्यालले जानकारी दिए ।
सरकारी काममा वा अनुमति लिएर संरक्षणमा खटिएकाहरुलाई आक्रमण गरेमा भने निर्देशिका अनुसार नै राहत उपलब्ध गराइने उल्लेख छ । राहत पाउनका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ ।
हालैको निर्णयअनुसार मृत्यु भएकाको हकमा आश्रित परिवारलाई रु १० लाख, सख्त घाइते भएमा बढीमा रु दुई लाख, सामान्य घाइते भएमा रु २० हजारसम्म उपचार राहत दिइने निकुञ्जले जनाएको छ ।
पशु धनको क्षति भएमा रु १० देखि ३० हजारसम्म, घरगोठ क्षति भएमा रु १० हजार, खाद्यान्नबाली क्षति भएमा बढीमा रु १० हजार दिइने छ ।
विसं २०७४ जेठ १९ मा सरकारको निर्णयअनुसार राहत दोब्बर बढाउने र थप तीनवटा वन्यजन्तुले आक्रमण गरेमा राहत दिने व्यवस्था गरेको हो ।
यस्तो छ कानुनी अवस्था
निकुञ्ज ऐन, २०२९ लगायत नेपालको कानुन तथा कुनै नियमावलीमा वन्यजन्तुको आक्रमणको राहतको विषय समावेश थिएन ।
वन्यजन्तु र स्थानीय समुदायबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ११४ बमोजिम वन मन्त्रालयले वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका, २०६६ जारी गरेको हो ।
सोही वर्षदेखि सामान्य राहत दिन सुरु भएको थियो । त्यसलाई खारेज गरी २०६९ सालमा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका जारी भएपछि केही राहत बढाइएको थियो ।
नेपाल सरकारले यो निर्देशिकालाई २०६९ सालमा माघ १८ गते स्वीकृत दिएको थियो भने २०७२ वैशाख ३१ मा पहिलो संशोधन भएको थियो ।
विसं २०७३ मा निकुञ्ज ऐनको पाँचौँ संशोधनले राहतको विषय समावेश गरेपछि एउटा कानुनी रुप पाएको निकुञ्ज विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाले जानकारी दिए । रासस













