३० जेठ, २०७४ (काठमाडौं)। नेपाली जनतालाई नाकाबन्दी गरेर दुःख दिएको एक मधेसकेन्द्रित दलले स्थानीय तहको निर्वाचनको विरोध गरेको भए पनि निर्वाचन आयोगले भने आफ्नो सम्पूर्ण तयारी पूरा गरेको छ । असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको निर्वाचन कुनै पनि हालतमा नसर्ने आयोगले स्पष्ट पारेको हो ।
राजधानीमा मंगलबार संचारकर्मीहरुसँग कुराकानी गर्दै आयोगको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ ।
प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोे बताए । राजनीतिक रुपले अप्ठेरो परेको स्थानमा सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ भनी पटकपटक गृहमन्त्रालयसँग आयोगले छलफल गरिरहेको जानकारी उनले दिए ।
निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अनुगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि मंगलबारबाट प्रशिक्षण सुरु गरिएको बताए । त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने जानकारी उनले दिए ।
असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने स्पष्ट बताए। ‘आमजनता, मतदाता पूर्णरुपमा निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै यादवले कुनै हालतमा मिति नसर्ने स्पष्ट पारे । अब पनि निर्वाचनको मिति सर्ला कि भन्ने शङ्का कसैले नगर्न पनि उनले आग्रह गरे। निर्वाचन सफल बनाउन पूर्ण तयारीका साथ आफूहरु प्रतिवद्ध रहेको उनको भनाइ थियो।













