२९ जेठ, २०७४ (काठमाडौं) । एमाले अध्यक्ष केपी ओलीले आफू अन्य दलको सहयोगमा अब प्रधानमन्त्री बन्न नसक्ने भन्दै निराशा व्यक्त गरेका छन् । अन्य दलको सहयोगमा एमालेले सरकार बनाउन अब सम्भव नभएको अभिव्यक्ति उनले दिएका हुन् । माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बनेको ओलीले माओवादीलाई नै धोका दिएकोले अब अरु दलले आफूलाई विश्वास नगर्ने मनसाय सोमबार व्यक्त गरे ।
नेकपा (एमाले) ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले केन्द्रको चुनावपछि हुने पार्टीहरुको गणितले मात्र एमाले सरकारमा जान सक्ने बताए ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखको गुनासो गर्दै ओलीले तीनै तहको निर्वाचनपछि यस्तो नहुने दावी गरे ।
चुनावमा एमालेलाई अरु दलले जित्ने अवस्था नरहेको र छिर्के लगाएर लडाउने काम भएको आरोप ओलीले लगाए । ललितपुरमा जितेको मान्छेलाई हराइएको आरोप समेत उनले लगाए । सत्तारुढ दलले एमालेले जित्ने ठाउँमा षडयन्त्र गरेको आरोप उनको थियो । एमालेले जति ठाउँमा हार्यो त्यति ठाउँमा षडयन्त्र भएको उनको जिकिर थियो ।
भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्रैषडयन्त्र गरेको उनले दोहोर्याए ।












