२९ जेठ, २०७४ (काठमाडौं) । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेका छन् । आचारसंहिता उल्लंघन गर्नेहरुमा प्रमुख तीन दलकै नेता तथा कार्यकर्ता रहेको हाम्रा उदयपुर
संवाददाताले जानकारी गराएका छन् ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको जनाइएको छ ।
राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको परिसर वरपरसमेत पार्टीका झन्डा र ब्यानर राखेको पाइएको छ ।
निर्वाचन आयोगले राजनीतिक दललाई चुनावी चिह्न भएको टिसर्ट र झोला वितरण नगर्नु भन्ने आदेश जारी गरेको छ । तर, यसलाई लत्याउँदै अहिले जिल्लाका राजनीतिक दलले चुनाव चिह्न भएको टिसर्ट र झोला वितरण गर्दै हिँडेका छन् ।
“चियापसलदेखि व्यापारीलाई समेत टिसर्ट लगाउन लाउने गरेका छन्,” गाईघाटका व्यवसायी ध्रुव राउतले भने ।
यस्तै राजनीतिक दलले चुनावी आचारसंहिता उल्लङ्घन गर्दै प्रचारप्रसार समेत भड्किलो बनाएका छन् । त्रियुगा नगरपालिकासहित कटारी नगरपालिका, बेलका नगरपालिका र चौदन्डी नगरपालिका क्षेत्रमा चुनावा प्रचारप्रसार भड्किलो देखिन्छ ।
जिल्ला निर्वाचन कार्यालयको निर्वाचन आचारसंहिता अनुगमनकर्ताका संयोजक कृष्ण पौडेलले राजनीतिक दललाई चुनावी आचारसंहिता पालना गर्न निर्देशन दिएको तर केही उल्लङ्घनका घटना सुन्नमा आएको बताए। सर्वदलीय बैठक बसेर यसबारे दलको ध्यानाकर्षण गराइने उनको भनाइ छ ।
गाईघाटका व्यवसायी विनोद साह भन्छन्, “मेरो घरको अगाडि आएर सबै राजनीतिक दलले झन्डा गाडेर गएका छन्, मलाई नसोधी मेरो घरको दलानमा झन्डा गाडेका छन्, यसले मलाई पनि असर गरेको छ ।”
सर्वसाधरणलाई अहिले राजनीतिक दलले टिसर्ट वितरण गर्न थालेका छन् । सवारी चालक, होटल मजदुरदेखि घर निर्माणमा संलग्न मजदुरलाई समेत राजनीतिक दलले टिसर्ट वितरण गरेको पाइएको छ ।














