२८ जेठ , २०७४ (राजविराज) । नेकपा एमालेलाई ठूलो दुश्मन ठानेको राजपाले फेरि पनि सप्तरीमा एमालेमाथि आक्रमण गरेको छ । एमालेको मेचीकाली अभियानका क्रममा सप्तरीमा कार्यक्रम गर्दा एमालेमाथि आक्रमण गरेको मधेसी मोर्चासम्बद्ध राजपाले आज फेरि सप्तरीमा एमालेको कार्यक्रम विथोल्दै आक्रमण उत्रिएको छ ।
एमालेले राखेको चुनावी कार्यक्रम विथोल्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले चुनाव प्रचार सामग्रीय समेत जलाएका छन् । सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपा कार्यकर्ताले विथोलेका हुन् ।
राजपा कार्यकर्ता एमालेको कार्यक्रम भइरहेको धर्मशालामा प्रवेश गरी एक्कसी तोडफोडमा उत्रिएका थिए । एमालेले चुनावी प्रचारका लागि राखेको झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन् ।
नेकपा एमालेले राजपाले गरेको आक्रमणको निन्दा गर्दै दोषीमाथि आवश्यक कारवाहीको माग गरेको छ । घटनाको भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ ।
निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटीका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गरेका छन् ।
घटना लगत्तै प्रहरी टोली पुगेका कारण स्थिति नियन्त्रण बाहिर जान नपाएको बताइएको छ ।












