२९ जेठ, २०७४ (गौशाला)। महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीलाई ४ जनाले सामूहिक बलात्कार गरेका छन् ।
गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले दिए ।
प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई गएराति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताए । पीडित युवतीलाई पनि उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको छ।
सो घटनामा संलग्न फरार तीन युवाको खोजतलास भइरहेको जनाइएको छ ।
प्रहरीले ती युवतीको उद्धार र दोषीलाई पक्राउ गरेपछि आरोपीहरुका तर्फबाट प्रहरी चौकीमा ढुङ्गामुढा भएकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर गर्नुका साथै गोलीसमेत चलाएको थियो।
आफ्नै निजी व्यावसाय गर्दै आएकी ती युवती बलात्कृत भएपछि दोषीउपर कानुनी कारबाहीको माग गर्दै औरही उद्योग वाणिज्य सङ्घले आज बिहान १० देखि १ बजेसम्म तीन घन्टा जलेश्वर–बर्दिबास सडकखण्डमा चक्काजाम गरेको छ ।












