२९ जेठ, २०७४ (काठमाडौं) । पहिलो चरणको स्थानीय निर्वाचनमा कांग्रेस दोस्रो स्थानमा झर्नुको रहस्य विस्तारै खुल्न थालेको छ । नेताहरुको आन्तरिक मनमुटाव र असहयोगले कांग्रेस पराजित भएको सोही दलका नेताहरुले बताउन थालेका छन् । काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ महानगरपालिकामा काँग्रेसले पराजय भोग्नुपरेको रहस्य खोलेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद भएको बताए।
निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको बताउँदै उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको काँग्रेसले अहिले किन हा¥यो भन्नेबारे सबै नेता तथा कार्यकर्ताले सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।
काठमाडौंका पराजित उम्मेदवार राजुराज जोशीका भाइ तथा कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि काँग्रेसले हार व्यहोरेको भन्दै यसको समीक्षा गर्नुपर्ने माग गरे । नगर उपप्रमुखले निर्वाचन जित्दै गर्दा नगर प्रमुख ठूलो अन्तरले के कारणले पराजित हुनुको कारण षडयन्त्र भएको र यसमा गम्भीर हुनुपर्ने उनले बताए ।
नेपाली काँग्रेसका तर्फबाट नयर प्रमुखका उम्मेदवार राजुराज जोशीले आफूलाई अमूल्य मत दिने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका थिए ।












