२७ जेठ, २०७४ (खोटाङ) । नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा एमालेका दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन् ।
काँग्रेसको झन्डा च्यातिएको विषयमा उत्पन्न विवादमा झडपमा झडप हुँदा तामाङ घाइते भएका हुन् ।
चुनाव प्रचारप्रसार र घरदैलो कार्यक्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा गएराति लाठीमुङ्ग्रोसहित आएका काँग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमालेले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि शुक्रबार राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको एमाले खोटाङका उपाध्यक्ष राम दङ्गालले बताए।
तामाङको टाउकामा गहिरो चोट लागेकोे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए। एमालेका कार्यकर्ताले विहीबार आफ्नो झन्डा च्यातेर सोही पोलमा आफ्नो झन्डा राखेको काँग्रेस पक्षको आरोप छ ।














