२७ जेठ, २०७४ (काठमाडौं) । मधेसकेन्द्रित एक दलले अन्तिममा आएर असार १४ को निर्वाचनमा समेत सहभागी हुने भन्दै एकपछि अर्को माग बढाउँदै लगेको छ । नेपाललाई असफल देश बनाउने योजनासहित राष्ट्रिय जनता पार्टी नेपालले फेरि अर्को अत्तो अगाडि सारेको छ । राजपाकै आग्रहमा बारम्बार सारिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन पुनः सार्न उसले सत्तारुढ दललाई शनिबार आग्रह गरेको छ ।
राजपाको आग्रहलाई बारम्बार मान्दै आएका सत्तारुढ कांग्रेस र माओवादी भने पछिल्लो समय झस्किएका छन् । निरन्तर चुनाव सार्न आग्रह गर्नुको पछाडि नेपाल देशलाई असफल बनाउने षडयन्त्र लुकेको विश्लेषण दुई दलले गरेका छन् । राजपाको यस्तो कुराले झस्किएका दुई दलले अब चाहिँ चुनावको मिति सार्न नसकिने जवाफ दिएका छन् ।

असार ९ गते रमजानको दिन परेको वाहनामा चुनावको मिति सार्न आग्रह गरेको राजपाले फेरि असार १४ मा पनि निर्वाचन नगर्न भनेको हो । त्यसो त राजपाको दलीय व्यवस्थाका लागि सहज बनाउनका लागि सरकारले निर्वाचन ऐनमा संशोधन गरेको छ । निर्वाचनमा जानका लागि राजपाको प्रमुख माग यही थियो । जति नै माग सम्बोधन गर्दा पनि राजपाले अहिले फेरि निर्वाचन सार्न आग्रह गरेको हो ।
राजपाको यही निहुँका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको शनिबारको बैठक निष्कर्षविहीन बनेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी र राजपा तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने बताएका थिए । विगतमा मोहन वैद्यको दल चुनावमा नआए पनि दोस्रो संविधान सभाको निर्वाचन भएको थियो र त्यही संविधानसभाले संविधान निर्माण समेत गर्यो । स्थानीय तहको पहिलो चरणको निर्वाचन विप्लव नेतृत्वको माओवादीले बहिष्कार गरे पनि सम्पन्न भएर जनप्रतिनिधिले काम गर्न थालिसके ।
राजपा चुनावमा सहभागी नभए पनि सरकारले दोस्रो चरणको निर्वाचन गर्ने देखेपछि राजपा नेताहरुले आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने धम्की समेत दिए ।
राजपाको मागअनुसार कांग्रेस र माओवादीलगायतका दलले साथ दिएर संविधान संशोधन गर्ने प्रयास गरिरहेका छन् । तर, संशोधनका लागि आवश्यक मत नपुगे पनि राजपाले बालहठ गर्दै जसरी पनि संविधान संशोधन गर्नुपर्ने रोइलो गरिरहेको छ ।
एमालेले बारम्बार मधेसी दलका नेतामाथि लगाउँदै आएको आरोप यतिवेला आएर सत्य देखिन थालेको छ । जति माग पूरा गरे पनि भारतबाट संचालित दल सहमतिमा नआउने र एकपछि अर्को माग तेस्र्याउने नियत रहेको विश्लेषण एमालेले गर्दै आएको थियो । भूकम्पले थलिएका नेपालीलाई नाकाबन्दी लगाएर पनि सन्तोष नमानेका मधेसी दल राजपाका नेताहरुको भित्री नियत देशलाई असफल बनाएर ठूलो संकट निम्त्याउनेतिर मात्रै केन्द्रित भएको पछिल्लो घटनाले झन स्पष्ट पारेको छ ।











