२६ जेठ, २०७२ (हुम्ला) । अरुलाई असल शिक्षाको पाठ सिकाउने शिक्षकहरुले मध्यरात हुनै लाग्दा संचारमाध्यमको तोडफोड गरी कर्मचारीमाथि नै आक्रमण गरेका छन् । हुम्ला जिल्लाको सिमिकोटमा सञ्चालित सामुदायिक रेडियो कर्णाली आवाजको स्टेसनमा जेठ २५ गते राती १० बजे सोही ठाउँका शिक्षकहरुले आक्रमण गरेका हुन् ।
मानसरोवर माध्यमिक विद्यालयका शिक्षकहरु अमरबहादुर शाही,रेशमराज रोकाया, पाल्जोर लामा, नेत्रबहादुर शाही एवं नर बोहोरा लगाएतको टोली रातको १० बजे एक्कासी रेडियोमा प्रवेश गरी तथानाम गाली गलौज गर्दै प्राविधिक प्रमूख अर्जुन बोहोरालाई आक्रमण गरेका थिए । फलामको हेण्डलले टाउकोमा हिर्काएपछि बोहोरा घाइते हुनु भएका छन् । घट्नामा भएको तोडफोडबाट समाचार कक्षमा भएको डेक्सटप कम्प्युटर १ थान, प्रिन्टर र फोटोकपी १ थान, ल्यापटप १ थान, टेलिफोन १ थान क्षति पुगेको जनाइएको छ ।
रेडियो प्रसारक संघ (अकोराब)ले आज एक विज्ञप्ती जारी गरी रेडियो कर्णाली आवाजमाथि भएको आक्रमणप्रति विरोध जनाएको छ ।
बर्वरतापूर्ण आक्रमण गर्ने दोषीलाई अविलम्ब कानुनी कारवाहीका लागि संघले सरकारसमक्ष आग्रह समेत गरेको छ ।
रेडियो कर्णाली आवाज विगत ६ वर्षदेखि हुम्ला सञ्चालित छ ।














