२६, जेठ, २०७२ (काठमाडौं) । मधेसी जनताको विश्वास गुमाएको राजपालाई अझ बढी टेन्सन दिने गरी मधेसका राजनीतिक दल एकीकृत भएका छन् । मधेसमा निर्वाचनपछि लज्जाजनक हार हुने अवस्था देखेपछि निर्वाचन बहिष्कारको नाटक गरिरहेको राजपालाई तर्साउने गरी सङ्घीय समाजवादी फोरम नेपाल र सद्भावना पार्टीबिच शुक्रबार एकता भएको छ । धेरै टुक्रामा विभाजित सद्भावना पार्टीमध्ये सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी र उपेन्द्र यादव नेतृत्वको दलबीच आज एकीकरण भएको हो।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरी दुई पार्टीका शीर्ष नेताले एकताको औपचारिक घोषणा गरे।
घोषणा कार्यक्रममा सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टी एकतासँगै उत्पीडित र पछाडि परेका समुदायको अधिकार र समानताका लागि प्रतिबद्धताका साथ लाग्ने बताए ।
अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नवनिर्वाचित सरकारले सहमतिअनुरुप संविधान संशोधनको प्रक्रिया अघि बढाएर आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनसहभागिता बढाउने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिए ।
सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले मधेसका जनता निर्वाचनको पक्षमा रहेको बताउँदै सबैको सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिइन्।
उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजवादीले पहिलो चरणको निर्वाचनमा समेत सहभागिता जनाइसकेको छ ।












