२५ जेठ, २०७४ (धनुषा) । मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनको तयारीका लागि आयोजित सभामा मानिसको उपस्थिति कम देखेपछि चुनाव बहिष्कार गर्ने घुर्की लगाएका छन् । चुनावको तयारीस्वरुप मधेसका जिल्ला तथा गाउँपालिकामा पुगेका ठाकुरले विहीबार यस्तो घर्की लगाएका हुन् । राजपाका कार्यकर्ताहरु धमाधम अन्य पार्टीमा प्रवेश गरेका कारण ठाकुर निराश बन्दै निर्वाचनमा सहभागी नहुने बताए ।
राजपाका नेता तथा कार्यकर्ता अन्य पार्टीतिर लागेकोले उनीहरुलाई रोक्न र राजपा प्रवेशको लहर चलेको देखाउने योजनासहित ठाकुर विहीबार धनुषाको औरही गाउँपालिकाको कपटौलमा पुगेका थिए । त्यहाँ विभिन्न व्यक्तिलाई पार्टी प्रवेशको कार्यक्रम समेत राखिएको थियो । तर पार्टी प्रवेश गर्नेको कुरा त परै जाओस् उनको स्वागतमा उपस्थितको संख्या समेत न्युन रहेपछि ठाकुर निराश बनेका थिए ।
निराश बनेका ठाकुरले सानो सभालाई सम्बोधन गर्दै आफूहरु चुनावको विरोधमा नभएको तर बाध्यता रहेको उल्लेख गरे । त्यो बाध्यता के हो भन्ने उनले खुलाएनन् ।
एकातिर भारतीय दवाव र अर्कोतिर आफ्नो दलले विजय प्राप्त नगर्ने हो कि भन्ने चिन्ता ठाकुरमा देखिन्थ्यो । ठाकुरले संविधान संशोधन नभए चुनावमा सहभागी नहुने कुरा दोहोर्याए ।
यसैबीच राजपाकै नेता राजेन्द्र महतोले धनुषा जनकपुरकै कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समेत यस्तै समस्या व्यहोर्नुपर्यो । गाउँपालिकासम्म पुगेर पार्टी प्रवेशका कार्यक्रम राख्ने र मानिसको सहभागिता गराउने उद्देश्यअनुरुप त्यहाँ पुगेका महतोको सभामा समेत मानिसको संख्या न्युन थियो । पार्टी प्रवेश गराउने व्यक्ति नै नभएपछि महतोले निर्वाचनमा आफूहरु सहभागी नहुने कुरा सुनाए ।
राजपा पछिल्लो समयमा निर्वाचनमा सहभागी हुने किसिमले निर्वाचनको तयारीमा लागेको छ । उसको मनशायबमोजिम संसदले निर्वाचन ऐन समेत संशोधन गरेको छ । त्यति मात्र होइन सरकारले पटकपटक निर्वाचन सारेर असार १४ तोकेको छ । असार ९ गते निर्वाचनको मिति नराख्न राजपाले गरेको आग्रहअनुसार सरकारले १४ मा सारेको हो । भारतको लाइनअनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजपाले संसदमा उनको पक्षमा मतदान समेत गरेको छ । अनि भारतीय संचारमाध्यममा भारत समर्थक देउवा प्रधानमन्त्री बनेको समाचार समेत प्रकाशित भैसकेका छन् ।
यति हुँदाहुँदै पनि राजपाले मधेसमा चुनाव जित्नका लागि अझै पनि धम्की दिइरहेको छ ।
यी घटनाक्रमलाई नियालेर विश्लेषण गर्दा राजपालाई जिताउने हो भने चुनाव हुन्छ नत्र हुँदैन भन्नेबाहेक उनीहरुको अरु कुनै आशय देखिँदैन । मधेसी जनताको अधिकारको कुरा गर्ने तर सदैव उनीहरुकै शोषण गरिरहने नेताहरु गाउँगाउँबाट खेदिने स्थिति भएकै कारण निर्वाचनसँग डराइरहेको बुझ्न कठिन छैन । गाउँमा आफू जाँदा कार्यकर्ता नभएकै निहुँमा रुवावासी गर्दै चुनावी सभा गर्दै चुनाव वरिष्कार गर्छौं भन्नु हास्यास्पद देखिएको छ ।












