२५ जेठ, दैलेख (२०७४) । भारतीय एकाधिकार अन्त्य गर्ने उद्देशयसहित चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गरेको नेपालले पश्चिम नेपालबाट चीन जोड्ने नयाँ मार्ग निर्माणको तयारी गरेको छ । सुर्खेतदेखि रारा हुँदै मानसरोवर जोड्ने गरी पञ्चकोशी राजमार्ग निर्माण गर्न लागिएको हो ।
दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोशी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोशी राजमार्ग निर्माण गरिने भएको हो ।
सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्लासम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखका बासिन्दामा खुसीयाली छाएको छ ।
पञ्चकोशी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोशी राजमार्ग राखिएको अर्थ मन्त्रालयका सल्लाहकार डा पुण्यप्रसाद रेग्मीले जानकारी दिएका छन् ।
रेग्मीकाअनुसार दैलेख सदरमुकाम हुँदै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत हुने सडक भएकाले यसको नाम पञ्चकोशी राजमार्ग राखिएको छ । बजेटमा व्यवस्था गरेर रकम विनियोजनसँगै काम सुरु हुन्छ, रेग्मीले भने ।
पञ्चकोशी राजमार्ग सञ्चालन भएमा सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म सडकबाट पुग्न सहज हुनेछ भने चीनसँगको सम्बन्ध विस्तारका लागि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।














