२५ जेठ, २०७४ (झापा) / झापाको शिवसताक्षीमा घरपैँचोमा भोज खाँदा गाउँलेहरु विरामी परेका छन् । विरामीको संख्याका कारण अस्पतालमा उपचार गराउन समेत समस्या भएको छ । भोज खाएका सबै गाउलेहरु बिरामी परेकाले उपचारका लागि अस्पतालमा बस्ने ठाउँ समेत नभएको हो ।
भोजका कारण गाउँका ४० जना भन्दा बढी बिरामी परिसकेका छन् । शिवसताक्षी नगरपालिका( १० माइधारका नेत्र दाहालको घरमा घर पैँचोको खान गएका उनीहरु बिरामी परेका हुन् । मंगलबार दिउँसोदेखि रातीसम्म भोज खुवाउने कार्यक्रम चलेको थियो । भोज खाएका उनीहरु बुधबार बिहानदेखि धमाधम बिरामी परेका थिए ।
सबै बिरामीको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । बिरामी थपिने क्रम जारी रहेको आम्दा अस्पतालका सुपरिटेण्डेट नबिन ढकालले जानकारी दिएका छन् । भोज खाएर बिरामी परेका स्थानीय सञ्जय लिम्बुले भोजमा मासु, पुलाउ, काँक्रा लगायतका खानेकुरा रहेको जानकारी दिए।
भोज खाएर सुतेपछि रातीदेखि नै पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने जस्ता लक्षण देखिएको विरामीहरुले बताएका छन् ।
भोज खुवाउने घर धनी दाहाल समेत विरामी परेर अस्पताल भर्ना भएका छन् । नयाँ घर बनाएर सर्दा छिमेकीहरुसँग खुशीयाली साटासाट गर्दा यस्तो भएको बताए। भोज खाएर बिरामी पर्नेहरुमा कतिपय बालबालिका र बृद्धबृद्धा समेत छन् ।
खानामा के मिसिएकोले सबैजना एकसाथ विरामी भएका हुन् भन्ने तथ्य खुल्न सकेको छैन । विरामीको उपचारपछि घटनाको अध्ययन गरेपछि मात्रै रहस्य खुल्ने बताइएको छ ।












