२४ जेठ, २०७४ (काठमाडौं) । नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले नसोचेको सफलता प्राप्त गर्ने ग्रह चलिरहेको प्रख्यात ज्योतिषले घोषणा गरेका छन् । कुण्डलीअनुसार मकर राशि भएका देउवाको आठौं घरको स्वामी वृहस्पतिको नवौं दृष्टि चलिरहेका कारण उनलाई गाडिएको धन प्राप्त हुने योग रहेको अनन्तश्री जगत्गुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्यले घोषणा गरेका हुन् ।
नेपालदेशडटकमसँग कुराकानी गर्दै उनले भने- ‘आगामी सात वर्ष शेरबहादुर देउवाका लागि अत्यन्त राम्रो छ, भारतमा मोदीले पाएको प्रसिद्धिजस्तै प्रसिद्धि देउवाले नेपालमा पाउनुहुनेछ । देउवाको नेतृत्वमा देशले विकास र समृद्धिको बाटो समात्ने देखिन्छ ।’
देउवालाई शनि ग्रह फाप्ने भएकोले अहिले शनिकै कारण उनी प्रधानमन्त्री पदमा पुगेको पनि जगत्गुरु वीरेन्द्रले दावी गरे । अहिले लाभ घरमा शनि बसेकाले देउवाको प्रधानमन्त्रीत्वकाल फलदायी हुने समेत उनको दावी छ । उनले थपे ‘अहिले उहाँको राजयोग चलिरहेको छ सूर्य र बुध दुवै शक्तिशाली अवस्थामा छन् ।’
दोस्रो चरणको निर्वाचन असार १४ गते भएरै छाड्ने दावी समेत जगत्गुरुले गरे । केही अवरोध आए पनि निर्वाचन भएरै छाड्छ उनले ठोकुवा गरे । ‘१४ गतेको मिति राम्रो रहेको तर आनन्दादिमा चर योग रहेकोले केही बाधा आउने देखिन्छ’ उनले थपे ।
देउवाको नेतृत्वमा कांग्रेस पार्टीका पनि राम्रा दिन आउने दावी वीरेन्द्रको छ ।
सपथग्रहणको साइतले देउवाको प्रधानमन्त्रीत्वकाललाई कस्तो देखाउँछ भन्ने प्रश्नमा वीरेन्द्रको जवाफ छ- ‘वुधबार दिउँसो १ः३५ देखि २ः०५ सम्मको समय सपथका लागि राम्रो थियो । २ः०६ देखि सुरु हुने चतुदर्शीले रिक्ता तिथिको काम गर्दछ । त्यसैले यो समय त्यति राम्रो मानिँदैन । यद्यपि अहिले देउवाज्यूको ग्रह राम्रो चलेकाले अरु कुरा गौंढ हुनेछन् ।’












