२४ जेठ, तनहुँ । देशभर गर्मी बढेपछि कुखुरा व्यवसायीहरु मारमा परेका छन् । गर्मीकै कारण हजारौं कुखुरा मरेपछि उनीहरु लाखौं रुपैयाँको नोक्सानीमा परेका हुन् । तराईको तुलनामा पहाडमा कम गर्मी भए पनि पहाडी जिल्लाहरु यसबाट झनै प्रभावित भएका छन् ।
अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् ।
व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिए । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताए । तिनै कुखुराले अन्डा दिन थालेको करिब दुई÷तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताए ।
साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६÷७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आएका छन् । श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बिमा गराएको र सोही बिमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा छैन भने।
त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्रोइलर जातका ४०० कुखुरा पटकपटक गरी मरेर सकिएको बताए । उक्त कुखरा मर्दा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिए ।
बिमा कम्पनीले ब्रोइलर जातको कुखुरा व्यवसायमा बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उनले बताए ।














