२३ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका छन्।
प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने- ‘दुवै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु।’
नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रष्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
प्रचण्ड नेतृत्वको सरकार गठन र त्यसपछि देउवा नेतृत्वको सरकार भारतको योजनामा बनेको आरोप लाग्ने गरेको छ । विपक्षी एमालेले यसविषयमा बारम्बार प्रश्न समेत उठाउँदै आएको छ । त्यसो त देउवा वारम्बार भारत गएर आशीर्वाद थाप्ने गरेको भनी आलोचना समेत हुने गरेको छ ।
मंगलबार भएको प्रधानमन्त्री निर्वाचनमा समेत भारतीय इसारामा चल्ने दलहरुले देउवाको समर्थनमा मतदान गरेका छन् । यो अवस्थाले निर्वाचनको विरोधमा रहेका मधेसकेन्द्रित दलहरु समेत अब निर्वाचनमा सहभागी हुने आशा पलाएको छ । तर भारत निकट रहेका देउवाले चीनसँग कसरी सन्तुलित व्यवहार गर्ने हुन् अहिले नै आँकलन गर्ने अवस्था छैन ।












