२३ जेठ, काठमाडौं । कतारमा उत्पन्न परिस्थितिका कारण नेपाली कामदार समस्यामा पर्ने भएका छन् । मुस्लिम बहुल ६ देशले सोमबार कतारसँगको कूटनीतिक सम्बन्ध तोडे लगत्तै कतारमा कार्यरत नेपालीका लागि संकट उत्पन्न भएको हो । ६ देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेलगत्तै कतार उडान गर्ने ६ विमान कम्पनीहरुले समेत कतारमा उडान नगर्ने घोषणा गरेका छन् । जसका कारण कतार फर्कन चाहने कतारी नागरिक र कतारबाट बाहिर जान चाहने यात्रुहरु ठूलो संकटमा परेका हुन् । साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् ।
कतारमा हाल ६ लाख नेपाली कामदार रहेको अनुमान गरिएको छ । वैदेशिक रोजगार विभागले रोजगारीमा जाने व्यक्तिको विवरण राखे पनि फर्कनेको विवरण नराखेका कारण कतारमा रहेका नेपालीको यकिन तथ्यांक पत्ता लागेको छैन । तर, पछिल्लो समय कतारको सेवासुविधामा वृद्धि भएसँगै कतार जाने नेपालीको संख्यामा ह्वात्तै वृद्धि भएको थियो ।
खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन् । कामदारको सेवा, सुविधामा सहजता होस् भनेर नेपालसँग श्रम सम्झौता गरेका कारण पनि कतार नेपाली युवाको रोजाइमा पर्दै आएको छ।
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म कतार जान साढे १० लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । यतिखेर कम्तीमा ६ लाख नेपाली कतारमा रहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालको दावी छ ।
कुटनीतिक सम्बन्धको अन्त्यसँगै साउदी अरेवियाको ‘इतिहाद एयरवेज’ र दुबईको ‘फ्लाई इमिरेट्स’ले दोहाको उडान रद्द गरेका छन् । सस्तो उडान भर्ने ‘फ्लाई दुबई’ले कतार भएर कुनै पनि उडान नगर्ने निर्णय गरेको छ । यसका कारण सस्तो टिकटमा यात्रा गर्ने नेपाली कामदार प्रत्यक्ष मारमा पर्ने भएका छन् ।
यसबाट कतार एयरवेजलाई कस्तो प्रभाव पर्छ भनेर केही पनि खुलाइएको छैन । कतार एयरवेज यस क्षेत्रकै प्रभावशाली विमानसेवा हो । कतार एयरवेजले आफ्नो सेवा संचालन गरे पनि यात्रु चापका कारण नेपालीहरु चर्को भाडा व्यहोर्न बाध्य हुने छन् ।

कतारका रोजगारदाताले कामदार पठाउने क्रम जारी राख्न आग्रह गरे पनि पछिल्लो घटनाक्रमका कारण कामदारको आकर्षण कतारमा कस्तो हुने हो भन्ने यकिन छैन ।
छिमेकी मुलुकसँगको सम्बन्धविच्छेदले कतारलाई खाद्यान्न आपूर्तिमा कुनै समस्या नपर्ने दावी कतार सरकारले गरेको छ । यद्यपि खाद्यान्न आपूर्ति गर्न साउदीको मार्ग प्रयोग गर्नुपर्ने भएकाले समस्या हुन सक्ने धेरैको अनुमान छ । साउदीले भने आफ्ना सबै यातायात सेवा कतारका लागि बन्द गरेको छ ।
साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार साउदीले कतारसँग आफ्ना सबै सीमा र सामुद्रिक तथा हवाई सम्पर्कसमेत बिच्छेद गरेको छ । यस्तै, संयुक्त अरब इमिरेट्सले कतारका कूटनीतिक प्रतिनिधिलाई ४८ घन्टाभित्र देश छाड्न आदेश दिएको छ ।
इजिप्टसहित अरब राष्ट्रका विभिन्न ६ मुलुकले आफ्ना यातायात सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या पर्ने देखिएको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।
आतंकवादलाई सघाएको र अरब क्षेत्रको शान्ति तथा अमनचैनमा समस्या ल्याएको आरोप लगाउँदै छिमेकी देशहरुले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको जनाएका छन् । इस्लामिक स्टेट र अलकायदा समूहसँग मिलेर कतारले आतंक मच्चाउन खोजेको आरोप छिमेकी देशले लगाएका छन् ।
कतारमाथिको यो आरोप केवल छिमेकी देशले मात्रै लगाएका छैनन् । विश्वकै शक्ति राष्ट्र अमेरिकाले समेत कतारलाई निगरानीमा राखेको छ । आतंकवादलाई सहयोग गरेको भन्दै अमेरिकी अर्थ मन्त्रालयले कतारका कैयौं नागरिकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकादेखि अरब राष्ट्रहरुको असयोगका कारण कतार तहसनहस हुने अनुमान गरिएको छ ।
कतारले भने यस्ता आरोपको खण्डन गर्दै आएको छ ।
महत्वपूर्ण कुरा त के छ भने कतारले सन् २०२२ को विश्वकप फुटबलको तयारी तीव्रताका साथ गरिरहेको छ । कतारले हाल बन्दरगाह, अस्पताल, मेट्रो रेल र सन् २०२२ को विश्वकप फुटबलका लागि ८ वटा रङ्गशाला निर्माण गर्दैछ । विश्वकपको तयारीमा तीव्र गतिमा जुटेको कतारमाथिका कुटनीतिक सम्बन्ध विच्छेदको असर कतारको विकास निर्माणमा पर्नेछ । जसका कारण विश्वकपको तयारी पूरा गर्न नसक्ने अवस्था सिर्जना हुनसक्छ । त्यति मात्र होइन आतंकवादलाई सहयोग गरेको आरोप लागेको देशमा विश्वकप गर्ने निर्णय फिफाले उल्ट्याउने त होइन भन्ने आशंका समते उत्पन्न भएको छ ।













