१७ जेठ, काठमाडौं । संविधान कार्यान्वयनमा अवरोध गर्दै आएको राष्ट्रिय जनता पार्टी केही लचक देखिएको छ । स्थानीय तहको निर्वाचनमा सहभागी हुने या नहुने भनी दोधारमा रहँदै सरकारसँग वार्गेनिङ गर्दै आएको राजपाले हठात् घोषणा गरेका बन्द हड्तालका कार्यक्रम फिर्ता लिएर लचकता देखाएको हो । उसले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। आमहड्ताल, बन्द र मसाल जुलुसका कार्यक्रम घोषणा गरेकोमा अब अरू सफ्ट खालका कार्यक्रम बाहिर ल्याउने भएको राजपाका नेता केशब झाले जानकारी दिएका छन्।
पार्टीको अध्यक्ष मण्डलको वैठकले निर्वाचनको मिति सरेकाले निर्वाचन केन्द्रित सबै विरोधका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो। आन्दोलनका परिमार्जित कार्यक्रम संघीय गठबन्धनको वैठकपछि आउने पार्टी नेता मनिष सुमनले बताए। राजपाले गत जेठ १२ गते संविधान संशोधनको माग राखेर निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको थियो।
उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्तालसमेत आह्वान गरेको थियो। सरकारले राजपालाई सहभागी गराउनकै लागि जेठ ३१ मा गर्ने भनेको दोस्रो चरणको निर्वाचन असार १४ गते सारेको छ। तर, राजपाले भने निर्वाचनको वातावरण तयार गर्न माग गर्दै आएको छ र हालसम्म निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन । तर, पछिल्लो अवस्थाले राजपा निर्वाचनमा सहभागी हुने लक्षण देखिएको छ । कुनै निर्णय लिनुभन्दा पहिले नेपालस्थित भारतीय दूतावासमा बैठक गरेर मात्रै निर्णय लिने राजपाले आफ्नो गृहकार्य जारी राखेको जनाइएको छ । उसले दूतावासको संकेत पर्खेर बसेको गोप्य स्रोत बताउँछ । दुई दिनअघि निर्वाचनबारे प्रमुख दलहरुसहितको महत्त्वपूर्ण बैठक छाडेर राजपा नेताहरुले भारतीय दूतावासमा बैठक गरेका थिए ।












